काठमाडौं, भदौ ३ । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रकरणमा काँग्रेस विभाजित भएको छ । उभसभामुखलाई हटाउने उद्देश्यले सुरु गरिएको हस्ताक्षर अभियानमा नेपाली कांग्रेस भित्र गम्भीर मतभेद देखिएको छ । विशेषगरी शेखर कोइराला पक्षधर नेताहरूबीच यसबारे स्पष्टता नआएको र ठोस निर्णयमा पुग्न नसक्दा कांग्रेसभित्रै दुई धार प्रकट भएको छ।
नेपाली कांग्रेस संसदीय दलमा हाल ८८ जना सांसद रहेका छन्। तीमध्ये करिब १६ जना सांसदहरू शेखर कोइरालाको पक्षमा रहेको बताइँदै आएको छ। तर, मंगलबार भएको हस्ताक्षर अभियानमा कोइराला पक्षका सांसद दिलेन्द्र बडू मात्र सहभागी भएका छन्। यसले शेखर समूहभित्रै ठूला विभाजन देखाएको संकेत गरेको छ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा जस्ता चर्चित नेताहरूले पनि हस्ताक्षरमा भाग लिएनन्। सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा उपसभामुखलाई हटाउने निर्णयमा सहमति जुटे पनि त्यस बैठकमा महामन्त्री थापा उपस्थित थिएनन्। उनको अनुपस्थिति र मंगलबार हस्ताक्षर नगर्नुबीच सीधा सम्बन्ध रहेको धेरैले आकलन गरेका छन्।
यद्यपि, थापाको पक्षधर मानिने सांसद सपना राजभण्डारीले भने हस्ताक्षर गरेर उपसभामुख हटाउने प्रक्रियालाई समर्थन गरेकी छिन्। यसले गगन थापा समूहभित्रै पनि मतभेद रहेको प्रष्ट पारेको छ।
यसअघि पनि उपसभामुख रानामगरलाई हटाउने तयारी गरिएको थियो। पोहोर भदौ २५ गते त्यस्तो पहल भएको तर शेखर कोइरालाले त्यसमा असहमति जनाएपछि प्रक्रिया रोकिएको थियो।
नेपाली कांग्रेस नेतृत्वले यस विषयमा आधिकारिक धारणा सार्वजनिक नगरे पनि भित्री खिचातानी बढ्दो छ। कांग्रेसका केही नेताहरूले सत्ता समीकरण र गठबन्धनका हिसाबले उपसभामुखलाई हटाउन आवश्यक रहेको बताइरहेका छन् भने केहीले यसले कांग्रेसभित्र अनावश्यक विवाद मात्र बढाउने बताएका छन्।
विशेषगरी कांग्रेसभित्र नयाँ पुस्ताका नेताहरूबीच रणनीतिक मतभेद बढ्दै गएको देखिन्छ। गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरू पार्टीभित्र निर्णायक भूमिका खेल्न सक्ने अवस्थामा भए पनि उनीहरूबीच ठोस एकता नदेखिनु कांग्रेसका लागि चुनौती बन्दै गएको छ। अर्कोतर्फ, शेखर कोइरालाले निरन्तर संयमित नीति अपनाउने रणनीति लिएका कारण उनका समर्थकहरू प्रष्ट दिशाहीन देखिएका छन्।
यस घटनाले आगामी दिनमा कांग्रेसभित्र सत्ता समीकरण र नेतृत्व संघर्ष झन् तीव्र हुने संकेत दिएको छ। उपसभामुख हटाउने प्रक्रिया सफल हुन्छ कि हुँदैन भन्ने अझै अनिश्चित छ, तर यस घटनाबाट कांग्रेसभित्र देखिएको विभाजन भने थप गहिरिएको छ।




