एजेन्सी
पटना, भदौ ३ । विकासशील इंसान पार्टी (भिआइपी) का संस्थापक तथा पूर्व मन्त्री मुकेश सहनीले चुनाव आयोग राजनीतिक दलजस्तै रहेको टिप्पणी गरेका छन् । उनले आफुहरुको लडाई निर्वाचन आयोगसँग भएपनि आयोग स्वयं एउटा राजनीतिक पार्टी बनेको आरोप लगाए ।
मतदाता अधिकार यात्रामा सहभागी रहेका सहनी कांग्रेस नेता राहुल गाँधी र राजद नेता तेजस्वी यादवसँगै यात्रा गर्दैछन् । सहनीका अनुसार यस यात्रामा बिहारका सर्वसाधारण नागरिक, विभिन्न समुदाय र धर्मका मानिसहरूले उत्साहपूर्वक समर्थन जनाइरहेका छन्। “वोट नै हाम्रो सबैभन्दा ठूलो अधिकार हो, यही अधिकारले लालुप्रसादलाई मुख्यमन्त्री र मलाई मन्त्री बनायो,” सहनीले भने।
सहनीले भाजपा र निर्वाचन आयोग मिलेर नागरिकहरूको मताधिकारमाथि प्रहार गरि रहेको आरोप समेत लगाएका छन । “हामीलाई भनिन्छ कि तिमी नागरिक हैनौ, तर यदि हामी भारतमै जन्मिएका हौँ भने भारतकै नागरिक हौँ । यसरी अधिकार खोस्नु लोकतन्त्रलाई कमजोर पार्ने षड्यन्त्र हो,” उनले भने।
उनले जोड दिए कि यात्रा केवल राजनीतिक प्रदर्शन होइन, यो आगामी पुस्ताका लागि लोकतन्त्र जोगाउने लडाइँ हो। “आज हाम्रो मत सुरक्षित छैन भने भोलि कुनै पनि नागरिकको भविष्य सुरक्षित रहने छैन,” सहनीको भनाइ थियो।
राहुल गाँधीले मतदानसम्बन्धी गम्भीर अनियमितताको उजुरी गरेको उल्लेख गर्दै सहनीले निर्वाचन आयोगलाई ती विषयमा तुरुन्त छानबिन गर्न आग्रह गरे । “हामी आयोगसँग लडिरहेका छैनौँ, तर विपक्षले उठाएका प्रश्नहरूको जवाफ आयोगले दिनैपर्छ,” उनले भने। सहनीका अनुसार आयोगको दायित्व निष्पक्ष निर्वाचन गराउनु हो, नागरिकलाई प्रश्न गर्ने होइन।




