टप एन्ड टी–२० सिरिजमा नेपाललाई पहिलो जित, होबार्ट हरिकेन्स ६६ रनले पराजित



काठमाडौं, भदौ ३ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ। मंगलबार भएको चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराउँदै प्रतियोगितामा विजयी खाता खोलेको हो।

नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमै ११४ रनमा समेटियो। नेपालको जितमा युवा बलर नन्दन यादव नायक बने। उनले ३ ओभरमा मात्र १७ रन खर्चेर ५ विकेट लिन सफल भए। कप्तान रोहित पौडेल, ओपनर कुशल भुर्तेल, स्पिनर रिजन ढकाल र सन्दीप लामिछानेले पनि १–१ विकेट लिए।

होबार्टका लागि ब्राड होपले सर्वाधिक ३१ रन बनाए भने चार्ली वाकिमले २८ रनको योगदान दिए। जेन कर्टेन भने २० रनमा अविजित रहे। तर बाँकी ब्याट्सम्यानले नेपालको अनुशासित बलिङ अघि टिक्न सकेनन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रनको उत्कृष्ट योगफल खडा गरेको थियो। नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखले ३३ रन बनाए भने ओपनर आसिफ शेखले २९ र कुशल भुर्तेलले २७ रनको योगदान दिए। अन्त्यतिर लोकेश बमले आक्रामक ब्याटिङ गर्दै ११ बलमा अविजित २५ रन बनाए जसले नेपाललाई बलियो योगफलसम्म पुर्‍यायो।

नेपालले ब्याटिङमा अतिरिक्त ३२ रन पनि पाएको थियो, जसले कुल स्कोर अझै उच्च बनायो। होबार्टका बलर निभेथन राधाकृष्णनले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन दिएर २ विकेट लिए। त्यस्तै राफ माकमिलनले पनि २ विकेट लिए भने मार्कस बिन, गाब्रियल बेल र ब्राड होपले १–१ विकेट झारे।

यसअघि नेपालले खेलिएका तीनै खेलमा पराजय भोगेको थियो। पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पराजित भएको नेपाल शनिबार बंगलादेश ए सँग पनि हार्यो। त्यसपछि सोमबार मेलबर्न स्टार्ससँग तेस्रो हार बेहोरेको थियो। लगातार तीन हारपछि आएको यस जितले नेपाली टिमको आत्मबल बढाएको छ।

आगामी खेलमा नेपाल भोलि मेलबर्न रेनेगेड्ससँग भिड्नेछ भने शुक्रबार पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्ने कार्यक्रम छ। यी खेलहरू नेपालका लागि थप चुनौतीपूर्ण हुने भए पनि होबार्टविरुद्धको जितले टोलीलाई नयाँ ऊर्जा प्रदान गरेको छ।

विशेषगरी नन्दन यादवको पाँच विकेटले नेपाललाई बलिङतर्फ बलियो साबित गरिदिएको छ भने ब्याटिङमा विभिन्न खेलाडीको सानो–सानो योगदानले टिमको सामूहिक खेल प्रदर्शन देखिएको छ। विश्लेषकहरूका अनुसार, यदि नेपालले आगामी खेलमा पनि बलिङलाई निरन्तरता दिन सक्यो भने सिरिजमा थप जीत निकाल्ने सम्भावना बलियो देखिन्छ।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार १४:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको