एजेन्सी
पटना, भदौ ३ । पूर्व स्वास्थ्य मन्त्री तथा आरजेडी (राजद) बाट निष्कासित नेता तेजप्रताप यादव जनशक्ति जनता दलको टिकटमा चुनाव लडने भएका छन ।
आफ्नो नयाँ राजनीतिक पार्टी जनशक्ति जनता दल सम्बन्धी कागजात बिहारका मुख्य निर्वाचन अधिकृत (सीईओ) कार्यालयमा सोमबार बुझाएका छन् । उनले पार्टी दर्ता, खर्च विवरण तथा बैंक खाता सम्बन्धी सम्पूर्ण आवश्यक कागजात निर्वाचन आयोगलाई उपलब्ध गराएका हुन्।
तेजप्रताप यादव दिउँसो सीईओ कार्यालय पुगेका थिए। त्यहाँ उनले निर्वाचन आयोगका पदाधिकारीसँग भेट गर्दै पार्टीको प्रक्रिया छिट्टै पूरा गर्न आग्रह गरे। सूत्रका अनुसार निर्वाचन आयोगका अधिकारीहरूले यो सामान्य प्रक्रिया भएको भन्दै छोटै समयमै सक्ने आश्वासन दिएका छन्।
भारत निर्वाचन आयोगले हालसालै कठोर कदम चालेको छ। गत छ वर्षमा एक पटक पनि चुनावमा नउत्रिएका १७ दललाई आयोगले दर्ता सूचीबाट हटाइसकेको छ। साथै, बिहारका अन्य १५ दर्ता भएका तर गैरमान्यता प्राप्त दललाई कारणबुझाउ नोटिस समेत पठाइएको छ। तर, तेजप्रतापको पार्टी ‘जनशक्ति जनता दल’ भने यस सूचीमा परेको छैन।
तेजप्रतापले २०२० मै आफ्नो पार्टी दर्ता गराएका थिए। गैरमान्यता प्राप्त राजनीतिक दलहरूले समय समयमा पार्टीको आर्थिक विवरण, खर्च तथा अन्य प्रशासनिक कागजात निर्वाचन आयोगमा बुझाउनुपर्ने प्रावधान छ। यही सन्दर्भमा उनले हालै आवश्यक कागजात उपलब्ध गराएका हुन्।
यसैबीच बिहारमा आगामी अक्टोबर–नोभेम्बरमा हुने भनिएको विधानसभा चुनावका तयारी तीव्र बनेका छन्। निर्वाचन आयोगले सम्पूर्ण जिल्लामा १६ वटा कोषाङ्ग गठन गरेको छ। यी कोषाङ्गहरू निर्वाचन प्रक्रियामा पारदर्शिता र व्यवस्थापन सुनिश्चित गर्न काम गर्नेछन्।
जसअन्तर्गत कार्मिक, तालिम, इभीएम, सामग्री, सूचना प्रविधि, निर्वाचक नामावली, गुनासो निवारण र मतदाता सहायता, सवारी साधन, कानुन व्यवस्था, जोखिम नक्साङ्कन र सुरक्षा योजना, निर्वाचन खर्च निगरानी, आचारसंहिता अनुगमन, मतपत्र र पोस्टल मत, मिडिया तथा सामाजिक सञ्जाल, एसडब्ल्युइप (मतदाता सचेतना) र संचार व्यवस्थापन लगायतका कोषाङ्गहरू गठन गरिएको हो।
यी सबै कोषाङ्गका नोडल पदाधिकारीलाई २८ अगस्टसम्म पटना स्थित निर्वाचन अधिकृत कार्यालयको सभागारमा तालिम दिइने तयारी भएको छ।
लालुप्रसाद यादवका जेठा छोरा तेजप्रताप यादव लामो समयदेखि राजनीतिक विवादमा आइरहेका छन् । राजदसँगको दूरी बढेपछि उनले नयाँ राजनीतिक बाटो रोजेका हुन्। उनले अब आफ्नै पार्टी जनशक्ति जनता दलको टिकटमा आगामी चुनावमा उम्मेदवारी दिने सम्भावना प्रष्ट पारेका छन्।
उनको यो कदमले बिहारको राजनीतिक समीकरणमा नयाँ बहस शुरु गरेको छ। एकातिर राजदमा पारिवारिक कलह अझै समाधान भइसकेको छैन भने अर्कोतिर तेजप्रतापले अलग राजनीतिक बाटो रोज्दा युवा मतदातामा कस्तो प्रभाव पर्छ भन्ने चासो देखिएको छ।




