शान्ति सम्झौतामा युक्रेनको सुरक्षा सुनिश्चित गर्ने ट्रम्पको आश्वासन



एजेन्सी, भदौ ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्दै रूस–युक्रेन युद्ध अन्त्य गर्न हुने सम्भावित शान्ति सम्झौतामा अमेरिका युरोपसँगै मिलेर युक्रेनलाई सुरक्षाको आश्वासन दिने बताएका छन्।

यो प्रतिवद्धता ट्रम्पले व्हाइट हाउसमा भएको असाधारण शिखर बैठकमा व्यक्त गरेका हुन्, जहाँ जेलेन्स्की र युरोपेली नेताहरू पनि सहभागी थिए। यसअघि ट्रम्पले अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए।

“सुरक्षाको सवालमा धेरै सहयोग हुनेछ,” ट्रम्पले पत्रकारहरूलाई भने। “युरोप पहिलो पंक्तिमा हुनेछ, तर हामी पनि सहयोग गर्नेछौं।”

जेलेन्स्कीले यसलाई “ठूलो कदम” भन्दै स्वागत गरे र ग्यारेन्टीहरू “७ देखि १० दिनभित्र कागजमा औपचारिक हुने” बताए। उनले अमेरिकासँग करिब ९० अर्ब डलर बराबरको हतियार खरिद गर्ने प्रस्ताव पनि गरे।

जर्मन चान्सलर फ्रेडरिक मर्ज र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धविरामलाई सीधा वार्ताको पूर्वशर्त बनाउनुपर्नेमा जोड दिए। म्याक्रोनले भने, “सुरक्षा ग्यारेन्टी भन्नासाथ हामी सम्पूर्ण युरोपेली महादेशको सुरक्षाबारे कुरा गर्दैछौं।”

तर ट्रम्प भने पुटिनसँगको भेटपछि मास्कोको धारणातर्फ झुकेका छन—अर्थात् युद्ध जारी रहे पनि शान्ति सम्झौताका कुरा अघि बढाउन सकिने बताएका छन ।
ट्रम्प र जेलेन्स्की दुवैले पुटिनसँग त्रिपक्षीय वार्ताको अपेक्षा समेत व्यक्त गरेका छन ।
ट्रम्पले सामाजिक सञ्जालमा पुटिनलाई फोन गरेको र दुई हप्ताभित्र हंगेरीमा पुटिन–जेलेन्स्की भेट हुन सक्ने जानकारी दिएका छन्।

योभन्दा अघिल्लो प्रत्यक्ष वार्ता यस वर्ष जुन महिनामा टर्कीमा भएको थियो। तर त्यतिबेला पुटिन आफैं उपस्थित नभई तल्लो तहको प्रतिनिधि मात्र पठाएका थिए।

फेब्रुअरीमा भएको असफल ओभल अफिस बैठकमा ट्रम्प र उपराष्ट्रपति जेडी भ्यान्सले जेलेन्स्कीलाई सार्वजनिक रूपमा आलोचना गरेका थिए। तर यसपटक माहोल निकै मित्रवत् रह्यो।
ट्रम्पले जेलेन्स्कीलाई आत्मीयतापूर्वक स्वागत गरे र पत्रकारलाई भने, “हामी युक्रेनका जनतालाई माया गर्छौं।”

ट्रम्पले द्रुत रूपमा युद्ध अन्त्य गर्न जोड दिइरहेका छन्। तर विश्लेषकहरूले चिन्ता व्यक्त गर्दै भनेका छन्, उनले रूसको पक्षमा हुने सम्झौता बनाउन दबाब दिन सक्छन्।

ट्रम्पको टोलीले दुवै पक्षले सम्झौता गर्नुपर्ने भने पनि उनले युक्रेनमाथि बढी जिम्मेवारी थोपरेका छन् । उनले क्रिमिया फिर्ता पाउने आशा त्याग्ने, नाटो सदस्यता नलिने र डोनेट्स्कको बाँकी भाग रूसलाई दिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।
जेलेन्स्कीले यी सबै मागहरूलाई प्रायः अस्वीकार गरिसकेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार ०८:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको