श्याम कुमार ठाकुर
सिरहा, भदौ ४ । सिरहा जिल्लाको मिर्चैया–कल्याणपुर सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतना अभियान सुरु गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानको संयोजनमा मिर्चैया ट्राफिकले सडक सुरक्षाका लागि सो अभियान सुरु गरेको हो। ूट्राफिक नियम पालना गरौं, दुर्घटनाबाट बचौंू भन्ने मूल नारासहित सञ्चालन गरिएको अभियानअन्तर्गत सवारी चालक तथा यात्रुहरूलाई ट्राफिक नियमको जानकारी प्रदान गरिँदैछ।
प्रहरीका अनुसार पछिल्ला केही महिनामा सो सडकखण्डमा सवारी दुर्घटनाको दर बढ्दो रहेको पाइएपछि जनचेतनामूलक कार्यक्रममार्फत दुर्घटना न्यूनीकरण गर्न खोजिएको हो।
कार्यक्रम अन्तर्गत सडक किनारमा जनचेतनामूलक प्लेकार्ड, पोस्टर तथा ब्यानर टाँस्ने, सवारी साधन चालकलाई नियमबारे जानकारी गराउने, हेलमेट र सीटबेल्टको प्रयोगमा जोड दिने लगायत गतिविधिहरू गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुखले सुरक्षित यात्रा सुनिश्चित गर्न सबै यात्रु तथा चालकहरूलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेका छन्।




