नगरपालिका र संर्घष समितिबीच दुई बुंदे सहमति

तत्कालका लागी आन्दोलन स्थगित


राजविराज, भदौ ६। लालपुर्जा सहित विभिन्न ८ बुंदे माग अघि सार्दै आन्दोलनरत राजविराज नगरवासी पीडीत संघर्ष समिति र राजविराज नगरपालिका कार्यालय बीच दुई बुंदे सहमती भएको छ ।

शुक्रवार संघर्ष समिति र राजविराज नगरपालिका बीच उक्त दुई बुंदे लिखित सहमती भएसंगै भदौ ७ गते देखी घोषित आन्दोलनका कार्यक्रमहरु तत्कालका लागी स्थगित भएको छ ।

राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन, योजना अधिकृत मनोज यादव, नगरपालिकाका कानुनी सल्लाहाकार शिव कुमार चौधरी, संघर्ष समितीका संयोजक इरसाद अन्सारी, प्रवक्ता अनिल देव, श्याम शर्मा लगायतका पदाधिकारी तथा नेपाल पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देवको उपस्थितीमा भएको सहमतीपत्रमा राजविराज नगरपालिका स्थापना कालदेखी नै वसोवास, भोगचलन र व्यापार व्यवसाय गर्दै आएका नगरवासी अहिले सम्म लालपुर्जा न पाउँदा आन्दोलनमा उत्रेको विषयलाई नगरपालिका कार्यालयले गम्भीरतापुर्वक लिएको उल्लेख छ ।

विगतमा उक्त जग्गा मालपोत कार्यालयमा लेखत पारित हुने, अदालतबाट हकहस्तान्तरण हुने तथा आर्थिक समस्यामा परेका वेला बैंक तथा वित्तिय संस्थामा सोही जग्गा धितो राखी ऋण कर्जा समेत पाउने गरेकोमा हाल सो सेवा सुविधा रोकिएकाले लालपुर्जाका लागी नगरकार्यपालिकाको निर्णयबाट भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस पत्र पठाउने सहमती पत्रमा उल्लेख छ । यस्तै उक्त समस्या समाधानका लागी नगरपालिकाको नेतृत्वमा संघर्ष समिती, राजनितिक दल तथा सरोकारवाला निकायका प्रतिनीधी सम्मिलीत संयुक्त टोलीले जग्गाधनी प्रमाण पत्र उपलब्धका लागी सक्रिय पहल गर्ने दुबै पक्षद्वारा हस्ताक्षरित सहमती पत्रमा उल्लेख छ ।

कार्यवाहक नगर प्रमुख परवीनले सहमतीको पुर्ण पालना र कार्यान्वयन गराउन आफुले आजै देखी आवश्यक पहल थाल्ने बताइन ।
“नगरसभा हुनु अगावै लालपुर्जा विहीन नगरका करिब ५ हजार परिवारले लालपुर्जा प्राप्त गर्न सकुन भन्ने आफ्नो पनि चाहना हो, कार्यवाहक नगरप्रमुख परवीनले भनिन–यसका लागी नगरपालिका कार्यालयको इमान्दार र सक्रिय प्रयास सूरु गरिने छ ।”
नगरपालिका संग भएको सहमती कार्यान्वयन हुने विश्वास राखेको भन्दै विगत जस्तै धोखा भए हालका लागी स्थगित गरिएको आन्दोलन पुःन चर्काउने संघर्ष समितका संयोजक अन्सारीको भनाई छ ।

सहमती भए लगत्तै वार्तास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी भोला दाहालले खुशी ब्यक्त गर्दै लालपुर्जा विहीन हज्जारौ नगरवासीको चाहनालाइ पुरा गर्न आफुले यस अघि पनि प्रयास गरेको तथा आफु जहाँ गएपनि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।

शुक्रवार नै दोलखा सरुवा भएका उनलाई वार्तास्थलमै राजविराज नगरपालिकाको तर्फबाट कार्यवाहक नगरप्रमुख परवीन तथा संघर्ष समितीको तर्फबाट संयोजक अन्सारीले दोसल्ला ओढाएर सम्मान तथा विदाई गरेका थिए ।

२०१६ साल मै स्थापना भएको राजविराज नगरपालिकाको मुख्य बजार क्षेत्रका ५ हजार २ सय परिवार अझै लालपुर्जा पाउन सकेका छैनन । जसकारण समस्यामा परेका उनीहरुले संघर्ष समिती नै गठन गरी विगत ५ महिना देखी चरणबद्ध आन्दोलन कार्यक्रम गर्दै आएका छन ।

प्रकाशित मिति: २०८२ भाद्र ६, शुक्रवार १९:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको