एजेन्सी, भदौ ७ । केन्द्रीय मन्त्री तथा भाजपा नेता गिरिराज सिंहले राजद सुप्रीमो लालु प्रसाद यादवलाई महाभारतको धृतराष्ट्र संग तुलना गर्दै उनको सपना कहिल्यै पुरा नहुने बताएका छन ।
बिहार विधानसभाको निर्वाचन नजिकिदै जाँदा राजनीतिक घमासान तीब्र भएका बेला सिंहले लालु प्रसाद यादव र उनका छोरा तेजस्वी यादवमाथि कडा प्रहार गरेका छन्।
पटनामा पत्रकारहरूसँगको कुराकानीमा सिंहले भने – “लालु यादव आफ्ना छोरालाई गद्दीमा देख्न आतुर छन्, तर उनको त्यो सपना कहिल्यै पूरा हुने छैन।”
गिरिराज सिंहले महाभारतको दृष्टान्त दिन्दै भने, “जसरी धृतराष्ट्रको गलत नीति र सोचका कारण उनका पुत्र राजा बन्न सकेनन्, त्यस्तै लालु यादवको चाहना पनि अधूरै रहनेछ।” उनले सीधै युवाहरूसँग अपील गर्दै भने कि बिहारका मतदाताले, विशेषतः ३० वर्षमुनिका युवाले, विगतमा राजदको शासन कस्तो थियो भन्ने सम्झनुपर्छ।
सिंहले राजद शासनकाललाई सम्झाउँदै कटाक्ष गरे । उनले भने, “त्यो समयमा बिहारमा न त बिजुली थियो, न राम्रो बाटो, न खानेपानी । गरीबसँग घर थिएन, अस्पतालमा जनावर बस्ने अवस्था थियो, विद्यालय जीर्ण अवस्थामा थिए ।” उनका अनुसार आजको बिहार पहिलेभन्दा धेरै बदलिएको छ। सिंहले दाबी गरे, “यो नयाँ बिहारले अब उडान भइसकेको छ, अब यसलाई अझ तीब्र गतिमा अघि बढाउन जरुरी छ।”
गिरिराज सिंहले महागठबन्धनलाई राज्यको विकासमा प्रमुख बाधक भएको आरोप लगाए। उनले भने, “बिहारका जनताले अब जातीय राजनीतिभन्दा माथि उठिसकेका छन्। आजको प्राथमिकता विकास हो, जुन महागठबन्धनका नीतिबाट सम्भव छैन।”
उनको वक्तव्यले स्पष्ट देखाउँछ कि बिहारमा एनडीएले आगामी चुनावी रणनीति युवामुखी एजेन्डा र विकासका उपलब्धिहरूमाथि केन्द्रित गर्ने तयारी गरिरहेको छ। सिंहले युवाहरूसँग अपिल गर्दै भने, “राज्यमा भएको विकासलाई आधार मानेर मात्र राजनीतिक निर्णय लिनुपर्छ।”
गिरिराज सिंहको लालु यादवलाई धृतराष्ट्रसँग तुलना गरेको अभिव्यक्तिले बिहारको राजनीतिक वृतमा व्यापक चर्चा ल्याएको छ। अब प्रश्न उठेको छ– राजदले यसमा के जवाफ दिनेछ?




