काठमाडौं,भादौ ७ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको इन्जिनियरिङ् शिक्षालाई विश्वस्तरीय बनाउनुपर्ने बताएका छन् ।
शनिबार ईन्जिनियरिङ् क्षेत्रको रुपान्तरणका बारेमा नेपाल ईन्जिनियरिङ् काउन्सिलले आयोजना गरेको दुई दिने कार्यशालाकोसमापन शत्रमा बोल्दै उनले नेपाली ईन्जिनियरहरुको योग्यता र क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा सम्बोधन गराउन शुरु भएको एक्रिडिएसनको माध्यमबाट नेपाली ईन्जिनियरहरुलाई विश्व जगतमा स्थापित गराउन सकिने विश्वास व्यक्त गरे ।
नेपालमानै अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नुपर्ने र त्यसका लागि काउन्सिलको अगुवाइ फलदायी हुने मन्त्री दाहालले विश्वास ब्यक्त गरे ।
नेपाली ईन्जिनियरहरुको क्षमता विकास, शैक्षिक विकास तथा सुधार, अध्ययन अनुसन्धानमा सहयोगका लागि सहयोग गर्न सरकार तयार रहेको उल्लेख समेत गरे ।
नेपालको पूर्वाधार विकासका क्षेत्रमा नेपालको इन्जिनियरिङ् क्षेत्रबाट उल्लेख्य सहयोग प्राप्त भई रहेको बताउँदै मन्त्री दाहालले नविन विकास र कार्यक्रमका लागि अनुसन्धानमूलक कार्यक्रमतर्फ पनि जोड दिनुपर्ने बताए ।




