महोत्तरी, भदौ ८ । संघीय गणतान्त्रिक गठबन्धनद्वारा महोत्तरीको जलेश्वरमा जनजागरण रैली तथा अन्तरक्रिया सभा सम्पन्न भएको छ । जिल्लाको समन्वय समितिको हलबाट सुरु भएको रैलीले नगर परिक्रमा गरी पुनः जिल्ला समन्वय समितिको हलमा पुगेर अन्तरक्रिया सभामा परिणत भएको थियो ।
रैलीमा गठबन्धनका शीर्षस्थ नेताहरू, पार्टी अध्यक्ष, केन्द्रीय पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरुले “एक मधेश, एक प्रदेश,” “मधेसी तथा उत्पीडित जनताको अधिकार सुनिश्चित गर,” “मदरसा विधेयक पारित गर,” “ओबिसी आयोग तथा निषाद आयोग गठन गर,” “पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर,” “उर्दु विश्वविद्यालय स्थापना गर,” “भ्रष्टाचारीहरूलाई कारबाही गर” जस्ता नाराहरू लगाउँदै नगर परिक्रमा गरेका थिए ।
रैलीको समापनपछि आयोजित अन्तरक्रिया सभा नेपाल संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष मोहम्मद सैदरको अध्यक्षतामा सम्पन्न भएको थियो भने उद्घोषणा बहुजन एकता पार्टीका नेता प्रकाश महराले गरेका थिए ।
सभामा प्रमुख अतिथिका रूपमा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री, रिजवान अन्सारीले उत्पीडित जनताको मुक्ति, समानता र सामाजिक न्यायको आन्दोलन, पहिचानको आन्दोलन, अधिकार सम्पन्न प्रदेशहरूको आन्दोलन र भ्रष्टाचारको अन्त्यका लागि आन्दोलन अझ सशक्त हुन आवश्यक रहेको बताए । उनले राज्यको एकल जातीय चिन्तन, साम्प्रदायिक मानसिकता र निरंकुश शैलीका साथै वर्तमान राजनीतिक नेतृत्वको अकर्मण्यता उत्पीडित जनता र मधेसी जनताको मुक्ति आन्दोलनमा बाधक बनेको बताए । अबको आन्दोलनलाई इमान्दार राजनीतिक शक्तिहरूले पुनर्गठित गरी तेस्रो जनआन्दोलनको रूपमा अघि बढाउनु आवश्यक रहेको उनको कथन थियो ।
कार्यक्रममा विशिष्ट अतिथिहरूमा बहुजन एकता पार्टीका कार्यवाहक अध्यक्ष राजाराम पासवान, नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतो, नेपाल जनजागृति पार्टीका केन्द्रीय अध्यक्ष धुपलाल निषाद, र मधेस प्रदेशका पूर्व गृह, कानुन तथा सञ्चार राज्य मन्त्री, प्रदेश सभा सदस्य बिमला अन्सारी लगायतको उपस्थिति रहेको थियो ।




