एजेन्सी, भदौ ८ । पटनामा २४ अगस्ट २०२५ मा ‘स्टार्टअप समिट २०२५’ आयोजना हुँदैछ । यो कार्यक्रम लेट्स इन्स्पायर बिहार अभियानअन्तर्गत आयोजना गरिने हो, जसको उद्देश्य राज्यमा उद्यमिता र स्टार्टअप संस्कृतिलाई नयाँ दिशा दिनुका साथै रोजगारीका अवसरहरू विस्तार गर्नु हो। समिटको मुख्य केन्द्रबिन्दु प्रत्येक जिल्लामा सफल स्टार्टअप स्थापना गरेर युवालाई आत्मनिर्भर बनाउनु र रोजगारी सिर्जना गर्नु रहेको छ।
कार्यक्रम बिहान १० बजेदेखि पटनाको रवीन्द्र भवनमा सुरु हुनेछ, जसको उद्घाटन बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले गर्नेछन्। यसमा उद्यमी, कार्पोरेट क्षेत्रका अनुभवी व्यक्तित्व र युवा प्रतिभाहरूको उल्लेखनीय सहभागिता रहनेछ।
यस अभियानका सूत्रधार आईपीएस अधिकारी विकास वैभवले जानकारी दिँदै भनेका छन् कि अहिलेसम्म २.५ लाखभन्दा बढी मानिस यो अभियानसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिइसकेका छन्। तीमध्ये करिब १५ हजारभन्दा बढी उद्यमी तथा वरिष्ठ कार्पोरेट पदाधिकारी सामेल छन्। हालसम्म ३५० भन्दा बढी स्टार्टअप यस अभियानमा समावेश भइसकेका छन्। लक्ष्य अनुसार २०२८ सम्म बिहारका प्रत्येक जिल्लामा कम्तीमा पाँच सफल स्टार्टअप खडा गरिनेछ, जसले हरेकमा सयौँ युवालाई रोजगारी दिनेछ।
समिटको विशेष आकर्षण “बिहार उद्यमिता सम्मान” हुनेछ। यस अन्तर्गत राज्यका २१ उत्कृष्ट स्टार्टअपलाई सम्मानित गरिनेछ, जसले कम्तीमा १०० भन्दा बढीलाई रोजगारी दिएका छन् वा भविष्यमा ठूलो सम्भावना बोकेका छन्। यी स्टार्टअपलाई २१ लाख भारतीय रुपैयाँको फन्डिङ समेत प्रदान गरिनेछ।
त्यसैगरी, समिटमा “ड्राफ्ट बिहार विजन २०४७” सार्वजनिक गरिनेछ। यो दस्तावेजलाई आवश्यक छलफल र सुझावहरूसँग परिष्कृत गरी २१ डिसेम्बर २०२५ मा बेंगलुरुमा आयोजना हुने “बिहार २२०४७ विजन कन्क्लेव” मा राज्यलाई समर्पित गरिने योजना छ।
विकास वैभवका अनुसार, पछिल्ला वर्षहरूमा यस अभियानअन्तर्गत पटना, दिल्ली, मुम्बई, दुबई, हैदराबाद, पुणे र बेंगलुरुमा ठूला कार्यक्रमहरू सम्पन्न भइसकेका छन्। हालसम्म करिब २२०० भन्दा बढी कार्यक्रम सम्पन्न भइसकेका छन्, जसमा हजारौँ युवाको सहभागिता रहेको छ। साथै, बेगुसराय, आरा, सासाराम, छपरा र वैशालीमा पनि ठूला स्तरका जनसंवाद कार्यक्रम भएका छन्, जसमा स्थानीय युवाहरूले उत्साहपूर्वक सहभागिता जनाएका छन्।
स्टार्टअप समिट २०२५ केवल एक सम्मेलन मात्र नभई, बिहारका युवाहरूलाई नयाँ उद्यमिता संस्कृतिसँग जोड्ने महत्वपूर्ण मञ्च हो। यसले राज्यलाई आत्मनिर्भरता र रोजगारी सिर्जनाको नयाँ यात्रातर्फ डोर्याउने अपेक्षा गरिएको छ।




