ओम प्रकाश यादव
रौतहट, भदौ ८ । रौतहटमा सुटकेस भित्र महिलाको शव बरामद गरिएको छ । रौतहटमा पछिलो समय हत्याहिंसामा वृद्धि भएको छ । सदररमुकाम गौर स्थित एकसाता भित्रमा जिल्लामा तीनजनाको हत्या भएको छ।
रौतहटको सदरमुकाम गौरमा चारदिन अघि एकजना युवाको छुरा प्रहार गरी हत्या गरिएको घटना सेलाउन नपाउँदै गएराति फेरि एकजना महिलाको शव फेला परेको छ।
गौर नगरपालिका ९ गौर सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा गेट नजिक राति सुटकेस भित्र शव बरामद भएको छ। रस्सीले बाँधिएको सुटकेस भित्र अपरिचित महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
सुटकेस राति ९ बजे नै फेला परेको भएपनि प्रहरीले आज बिहान खोलेर हेर्दा अन्दाजी ३० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
स्थानीयहरूले शंकास्पद अवस्थामा सडक किनारमा फालिएको सुटकेस हेरेपछि प्रहरीलाई खबर गरेका थिए ।
सुटकेस भित्र बरामद भएको महिलाको पहिचान हुन् बाँकी छ । उक्त महिलाको कसैले हत्या गरी सुटकेस भित्र हालेर फालेको प्रहरीले जनाएको छ। प्रहरीले मुचुल्कापछि शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी क्यामेरा जाँच गरिरहेको छ । घटना बारे थप अनुसन्धान भरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीले बताएका छन् । एकसाता भित्रमा मात्रै रौतहटमा तीन जनाको शव फेला परेको छ ।
गौर झोलुङ्गे आप नजिक चारदिन अघि छुरा प्रहारबाट सहाबुदिन मियाको हत्या भएको थियो भने त्यसको तीनदिन अघि गौरकै नेपाल लज भित्र सप्तरीका उपेन्द्र भगत मृत अवस्थामा भेटिएका थिए। त्यस्तै आज पनि सुटकेस भित्र पहिचान हुन् नसकेको महिलाको शव भेटिएको छ।
यसरी गौरमा एकपछि अर्को हत्याका घटना लगातार हुन थालेपछि स्थानीय त्रसित भएका छन्।




