जनकपुरधाम, भदौ ९ । जनता समाजवादी पार्टी नेपालले आज जनकपुरमा भूमि विधेयकको प्रतिलिपी जलाएको छ ।
भूमि विधेयकको शुरु देखी विरोध गर्दै आएको जसपा नेपालले भूमि विधेयक समितिबाट पारित भए लगतै देशव्यापी विरोधको कार्यक्रम सार्वजनिक गरेको थियो ।
जसपा नेपाल केन्द्रिय कार्यालयद्वारा जारी निर्देशन अनुरुप जसपा धनुषाले आज भुमि विधेयकको प्रतिलिपी जलाएको हो ।
जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उनिहरुले भूमि विधेयकको प्रतिलिपी जलाउदै भूमि विधेयक विरुद्ध नारावाजी समेत गरेका थिए ।
भुमि विधेयक पारित भए मधेशमा औपनेविशीकीकरण हुनुका साथै मधेक मरुभूमिमा परिणत हुने भन्दै जसपा नेपालले विरोध गर्दै आएको छ । जसपा नेपाल भूमि विधेयक भूमिहिनको लागि नभई भूमाफियाको इसारामा आएको आरोप लगाउदै आएको छ।
यस अघि सरकारले भूमि अध्यादेश ल्याउदा समेत जसपा नेपाल असहमतिका कारण फिर्ता लिएको थियो । राष्ट्रिय सभामा स्पष्ट बहुमत नहुँदा सरकार जसपा नेपालको अडान सामू झुक्न बाध्य भएको थियो ।
अध्यादेश पारित नभएपछि केपी शर्मा ओली नेतृत्वको सरकार विधेयक मार्फत ल्याउने प्रक्रिया अघि बढाएका छन ।




