काठमाडौँ, भदौ ११ । गाली बेइज्जतीको उजुरीपछि पक्राउ परेका नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा रिहा भएका छन्।
साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार, महरसँगै उनकी श्रीमती पनि हाजिरी जमानीमै छुटेकी छन्।
यसअघि महरविरुद्ध जाहेरी दिने महिलालाई पनि सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा रिहा गरेको थियो। महरले ती महिलाविरुद्ध समेत साइबर ब्युरोमै उजुरी दिएका थिए।
सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेले दुवै पक्षको दोहोरो उजुरी देखिएकाले अदालत नलगिकनै हाजिरी जमानीमा अनुसन्धान अघि बढाउने निर्णय भएको बताए।
एक महिलाले महरमाथि गाली बेइज्जती तथा चरित्र हत्या गरेको आरोप लगाउँदै हुलाकमार्फत उजुरी दिएकी थिइन्। त्यसपछि सोमबार उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि महर आफैं साइबर ब्युरोमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्ने बताएका थिए।




