गाजा सिटी कब्जाका लागि इजराइली सेनाको अभियान सुरु



एजेन्सी, भदौ १२ । गाजा पट्टीको सबैभन्दा ठूलो शहर गाजा सिटी कब्जा गर्न इजराइली सेनाले ठूलो सैन्य अभियान सुरु गरेको छ । मंगलबार–बुधबार राति इजराइली सेनाका ट्याङ्कहरू तोप प्रहार गर्दै गाजा सिटीको सीमा भित्र प्रवेश गरेका छन् । यसैबीच, इजराइल र हमास लडाकुहरू बीच प्रत्यक्ष भिडन्त सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इजराइली सेनाको गीभाती ब्रिगेड र हमास लडाकुबीच तीव्र भिडन्त भएको समाचार एएनआईले दिएको छ। इजराइली सेनाले हमासको टुकडीलाई ठूलो क्षति पु–याउँदै संगठनको शस्त्रागार ध्वस्त गरेको दाबी गरेको छ।

कारबाहीका क्रममा इजराइली वायुसेनाको हवाई आक्रमणमा हमास कमाण्डर महमुद अल–असौद मारिएका छन्। गाजा पट्टीमा २२ महिनादेखि संघर्ष जारी भए पनि घना जनसंख्या भएको गाजा सिटीमा इजरायल यसअघि नियन्त्रण कायम गर्न नसकेको थियो।

यस महिनाको सुरुवातमा इजराइल सरकारले गाजा सिटीलाई स्थायी रूपमा कब्जा गर्ने योजना सार्वजनिक गरेको थियो। तर यस योजनाको अन्तर्राष्ट्रिय समुदायले आलोचना गर्दै यसका दीर्घकालीन दुष्परिणामबारे चेतावनी दिएको छ।

इजराइली सेना अहिले गाजा सिटीको सीमावर्ती क्षेत्र एबाद–अलरहमन मा कारबाही गरिरहेको छ। यहाँ बसोबास गर्ने धेरै स्थानीय बासिन्दा आक्रमणको डरले पहिले नै घर छोडिसकेका छन्, जसकारण सेनाको प्रत्यक्ष भिडन्त हमाससँग भइरहेको छ।

जमिनी कारबाहीसँगै इजराइली लडाकु विमानहरूले पनि गाजा सिटीमा बमबारी गरिरहेका छन्। जबालिया शरणार्थी शिविरमा समेत इस्रायलले आक्रमण थालेको छ, जहाँ अझै पनि हमासको नियन्त्रण कायम छ।

यसबीच, ग्रीक अर्थोडक्स प्याट्रिआर्केट र ल्याटिन प्याट्रिआर्केट अफ यरुशलमले भने गाजा सिटीमा रहेका गिरजाघर र सेवामा संलग्न मानिसहरूलाई नछोड्ने घोषणा गरेका छन्। तर इजराइली सेनाले सुरक्षा कारण गाजा सिटी छोड्न आग्रह गरेको छ।

संयुक्त राष्ट्र र फलस्तिनी अधिकारीहरूले विस्थापितका लागि करिब १५ लाख नयाँ टेन्ट आवश्यक पर्ने बताएका छन्। इस्रायली सेनाले शहर छोड्नेहरूलाई अन्यत्र बसोबासको व्यवस्था मिलाइने आश्वासन दिएको छ।

यसैबीच, अमेरिकाले वर्षको अन्त्यसम्म गाजाको समस्या समाधान हुने र शान्ति स्थापना हुने आशा व्यक्त गरेको छ। अर्कोतर्फ, इस्रायलले दमास्कस नजिकै ड्रोन आक्रमण गरी ६ जना सीरियाली सैनिक मारिदिएको समाचार सीरियाली सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको छ।

प्रकाशित मिति: २०८२ भाद्र १२, बिहीबार ०८:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको