रामेछापमा मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु, एक सयभन्दा बढीको शल्यक्रिया हुने अनुमान



 

रामेछाप ,भादौ १३ । सदरमुकाम मन्थलीस्थित तामाकोसी अस्पतालमा मोतियाबिन्दु का बिरामीको शल्यक्रिया सुरु भएको छ ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान केयर ब्लाइन्डनेस प्रोजेक्ट, पीएसएफ लक्जेम्बर्गको सहयोगमा सामुदायिक विकास समाज मन्थलीले सञ्चालन गरेको महिला तथा बाल सशक्तीकरण स्वास्थ्य तथा सरसफाइ सुधार परियोजना र खाँडादेवी गाउँपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा खाँडादेवी गाउँपालिकाका विभिन्न वडामा सञ्चालन भएका प्राथमिक स्वास्थ्य शिविरबाट छनोट भएका बिरामीको मोतियाबिन्दु शल्यक्रिया भइरहेको छ । शिविर दुई दिनसम्म चल्नेछ । सामुदायिक विकास समाज मन्थलीका निर्देशक मिलनकुमार घिसिङका अनुसार गाउँ गाउँमा पुगेका छनोट टोलीले सर्जरी आवश्यक बिरामी पहिचान गरी मन्थली ल्याइएको हो ।

‘मूलतः खाँडादेवीमा छनोट गरिएका आँखाका रोगीको लागि यो शिविर आयोजना गरिएको हो, तर यहाँ सोझै आएर सर्जरी गर्न चाहने बिरामीलाई पनि सुविधा दिइनेछ,’निर्देशक घिसिङले बताए ।

आयोजक संस्थाले छनोट भएका बिरामीलाई घरदेखि ल्याएर उपचारपछि पुनः घरसम्म पु¥याउने व्यवस्था मिलाएको छ । यसरी सञ्चालन हुने आँखा शिविरलाई सामुदायिक विकास समाजले नियमित कार्यक्रमका रूपमा अघि बढाउँदै आएको छ ।

शिविरमा एक सयभन्दा बढी बिरामीको मोतियाबिन्दु सर्जरी हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रवार ११:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको