एजेन्सी
पटना, भदौ १३ । बिहार विधानसभा चुनावको राजनीतिक माहोल तातेकै बेला बिहारमा आजै चुनाव भए एनडीए गठबन्धनले बहुमत ल्याउने एक सर्वेले देखाएको छ ।
कांग्रेस नेता राहुल गान्धी हाल ‘भोटर अधिकार यात्रा’ मा छन् भने, सत्ता कसको हातमा जाने भन्ने प्रश्नले चुनावी सरगर्मी बढाएकोबेला जेभिसीको सर्वेक्षणले वर्तमान सत्ता गठबन्धनले नै बहुमत पु¥याउने नतिजा सार्वजनिक गरेको हो ।
हुनत इण्डिया गठबन्धन (महागठबन्धन) छ बहुमतका लागि पुरै दम लगाई रहेका छन तर सवेक्षणले भने एनडीएलाई मजबुत देखाएको छ ।
सर्वे अनुसार अहिले नै चुनाव भए एनडीए १३६ सिट जित्न सक्नेछ भने महागठबन्धन ७५ सिटमा सिमित हुने देखिएको छ । अन्य दलहरुले करिब ६ सिट पाउने अनुमान गरिएको छ। यस्तै, २६ सिटमा काँटाको प्रतिस्पर्धा हुने सम्भावना छ । मिथिलाका ३, सीमाञ्चलको १, तिरहुतका ३, मगधका ६, भोजपुरका ८ र अंग क्षेत्रका ५ सिटलाई अत्यन्तै कडा प्रतिस्पर्धी मानिएको छ।
वोट सेयरको कुरा गर्ने हो भने एनडीएः ४२% देखी ४६% सम्म , महागठबन्धन ३७% देखी ४१% सम्म , जन सुराज पार्टी ९% देखी ११% सम्म र अन्य ७%–८% सम्म ल्याउने सर्वेक्षणले देखाएको हो ।
मुख्यमन्त्रीको विषयमा यदि एनडीए सरकार बन्यो भने जनताको राय मिलेजुलेको देखिएको छ। २५.२% ले अझै पनि नीतिश कुमारलाई मुख्यमन्त्री देख्न चाहेका छन् भने ४४.४% ले भने सबैभन्दा ठूलो पार्टीको नेता मुख्यमन्त्री बन्नुपर्ने बताएका छन्। २०.४% मतदाता भाजपाको मुख्यमन्त्री उम्मेदवारतर्फ आकर्षित देखिएका छन् । र १०% मतदाता भने चिराग पासवानको पक्षमा छन्।
त्यसैगरी, यदि महागठबन्धनको सरकार बन्ने हो भने जनमत स्पष्ट देखिन्छ। ४५.९% ले तेजस्वी यादवलाई मौका दिनुपर्ने बताएका छन् । ३६.९% ले गठबन्धन सहयोगीले निर्णय गर्नुपर्ने धारणा राखेका छन् । र १७.२% ले लालु परिवार बाहेकको नेताले नेतृत्व लिनुपर्ने बताएका छन्।
जेभीसी पोलको नतिजाले देखाउँछ कि आउँदो बिहार विधानसभा चुनाव निकै रोचक हुने छ। हाललाई भने एनडीए बहुमतको नजिक देखिन्छ भने, महागठबन्धनले तेजस्वी यादवको लोकप्रियतामा भर पर्नुपर्ने अवस्था छ।




