कीभमा इयू र बेलायतका भवनमा रुसी मिसाइल आक्रमण, १८ को मृत्यु



एजेन्सी, भदौ १३ । रुस–युक्रेन युद्ध फेरि उग्र बनेको छ । बिहीबार बिहानदेखि रुसी सेनाले युक्रेनको राजधानी कीभमा ताबडतोड मिसाइल आक्रमण गरेको छ ।

आक्रमणमा युरोपेली संघ (इयू)को कार्यालय र ब्रिटिश काउन्सिल भवन समेत क्षतिग्रस्त भएका छन् । तीन वर्षभन्दा बढीको युद्धमा पहिलोपटक विदेशी कूटनीतिक भवनहरू प्रत्यक्ष निशाना बनेका हुन्।

कीभमा भएका मिसाइल आक्रमणमा चार बालबालिकासहित १८ जनाको मृत्यु भएको र करिब ३८ जना घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। यद्यपि, इयू र ब्रिटेनका भवनभित्र भने कुनै मानवीय क्षति भएको छैन।

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेंस्कीले रुस वार्तामा होइन, हत्या र आतङ्कमा विश्वास गर्छ भन्ने प्रमाण यो आक्रमणले दिएको बताएका छन्। उनले रुसमाथि अझ कडा प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।

ब्रसेल्स र लन्डनस्थित परराष्ट्र मन्त्रालयले आफ्ना–आफ्ना देशमा रुसी राजदूतलाई चेतावनी दिदै विरोध प्रकट गरेका छन् । इयू प्रमुख उर्सुला भान डेर लाएनले रुसी आक्रमणले अब यूरोपलाई पनि आतंकित गर्ने चेतावनी दिएको बताइन्। ब्रिटिश प्रधानमन्त्री किएर स्टार्मरले पनि आक्रमणको कडा निन्दा गरेका छन्।

युक्रेनी वायुसेनाले दाबी गरेको छ कि बिहीबार मात्र रुसले पठाएका करिब ६०० ड्रोनमध्ये ५६३ र ३१ मिसाइलमध्ये २६ मिसाइललाई आकाशमै खसेको छ। बाँकी आक्रमणका कारण विद्युत् ग्रिडमा क्षति पुगेको र केही शहर अन्धकारमा डुबेको छ। अर्कोतर्फ रुसले युक्रेनका १० भन्दा बढी तेल प्रशोधन कारखाना, बन्दरगाह र इन्धन भण्डारमा युक्रेनले आक्रमण गरेको जनाएको छ।

जमीनी मोर्चामा रुसी सेना विस्तारै अगाडि बढिरहेको छ भने हवाई आक्रमणले कीभसहित १३ शहरमा व्यापक क्षति पुगेको छ। युद्ध अझै कडा रूप लिन सक्ने संकेत देखिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रबार ०७:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको