सप्तरी, भदौ १३ । छुट्टाछुट्टै माग राख्दै कतै गुरुद्वारा धर्ना त कतै शिष्यद्वारा तालाबन्दी गरि धर्नामा बसेका छन् । विगतमा नेपाल शिक्षक महासंघ सँग सरकारले गरेको सहमतिको पूर्ण कार्यान्वयनको माग गर्दै शिक्षकहरु शुक्रबार राजविराज नगरपालिकासहित जिल्लाको सबै १८ वटै पालिकामा धर्नामा बसेका हुन् ।
शिक्षक आन्दोलन परिचालन समितिको अगुवाईमा बसेको धर्नामा शिक्षकहरुको उल्लेख्नीय सहभागिता देखिएको छ । धर्नामा बसेका नेपाल राहत शिक्षक संघ मधेश प्रदेशका अध्यक्ष एवं आन्दोलन परिचालन समितिका सदस्य गंगाप्रसाद यादवले नेपाल शिक्षक महासंघको नेतृत्वमा विगतमा भएको आन्दोलनका क्रममा सरकारले पटक पटक सहमति गरेपनी त्यसको पूर्णपालना नगरेकोले बाध्य भई पुनः आन्दोलनमा जानु परेको बताए ।
“भोलीको उन्नत र गुणस्तरिय विद्यालय शिक्षाका आवश्यकता, चुनौती तथा आम शिक्षक कर्मचारीको अपेक्षाप्रति सरकार गम्भिर नभएका कारण हामी पुनः आन्दोलित भएका हौं, उनले भने “यसै क्रममा भदौ १५ गते जिल्लाभरका शिक्षक सदरमुकाम राजविराजमा भेला भई शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना बस्नेत तय गरेका छौं ।”
शिक्षकहरु आन्दोलनमा उत्रेपछी सरकारी विद्यालयको पठनपाठन समेत प्रभावित बन्न पुगेको विद्यार्थीहरुले बताएका छन् ।
यता शुक्रबार नै परिक्षाको नतिजामा प्रयोगात्मक परिक्षाको अंक समावेश नगरिएको भन्दै विद्यार्थीहरुले सदरमुकाम राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा तालाबन्दी गर्दै धर्नामा बसेका छन् ।
अघिल्लो दिन सार्वजनिक भएको बीएड चौथो वर्षको नतिजामा सबै १ सय ३० विद्यार्थीलाई प्रयोगात्मक परिक्षामा अनुपस्थित भएको उल्लेख भएपछी विद्यार्थीहरु आक्रोसित बनेका हुन् ।
शिक्षा शास्त्र संकायका प्रमुख रामअशिष यादव र परिक्षा शाखाका प्रमुख चन्देश्वर यादवको लापरवाही र स्वार्थका कारण नतिजा प्रकाशनमा त्रृटी भएको विद्यार्थीहरुले आरोप लगाएका छन् ।
स्ववियु सभापति रन्जित कुमार यादवले त्रृटी सुधार गरी नतिजामा प्रयोगात्मक अंक समावेश नगरिएसम्म तालाबन्दी र धर्ना जारि रहने बताए ।
क्याम्पस प्रमुख शुशिलचन्द्र लाल कर्णले समस्या समाधानका लागि आफूले पहल गरिरहेको बताएका छन् ।






