श्याम कुमार ठाकुर
सिरहा, भदौ १४ । सिरहा जिल्लाको मिर्चैया नगरपालिका–७ जिवा टोलस्थित मिर्चैया–कटारी सडकखण्डमा स्कुटीको ठक्करबाट गम्भिर घाइते भएकी एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ।
गत भदौ १३ गते साँझ करिब ७:३० बजे फुलबरियाबाट नरहा तर्फ गइरहेको प्रदेश २–०१–००३ प ३३६५ नम्बरको स्कुटीले विपरीत दिशाबाट आइरहेकी पैदलयात्री ७० वर्षीया कुन्ती देवी साहलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते भएकी साहको टाउकोमा चोट लागेको थियो।
स्थानीय मनोकामना अस्पताल, मिर्चैयामा प्रारम्भिक उपचारपछि उनलाई राति ८:३० बजे थप उपचारका लागि बिराटनगर रिफर गरिएको थियो। तर, भोलिपल्ट भदौ १४ गते बिहान ५:०० बजे उपचारकै क्रममा उनकी मृत्यु भएको प्रहरीले जनाएको छ।
वृद्धा साह मिर्चैया नगरपालिका–७ का स्थानीय महावीर साहकी पत्नी हुन्। हाल मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, लहानमा राखिएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।




