युक्रेनी सांसद आन्द्रेइ पारुबीको गोली हानी हत्या



एजेन्सी, भदौ १५ । युक्रेनी सांसद तथा पूर्व सभामुख आन्द्रेइ पारुबीको पश्चिमी सहर लभिभमा गोली हानी हत्या गरिएको छ । अज्ञात आक्रमणकारीले दिनदहाडै पारुबीमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको हो।

राष्ट्रपति भोलोडिमिर जेलेंस्कीले यो आक्रमणलाई ठूला साजिशको रूपमा व्याख्या गर्दै कडा निन्दा गरेका छन्। उनले दोषीलाई चाँडै पक्राउ गर्ने प्रतिबद्धता जनाएका छन्।

शनिबार लभिभमा पारुबीमाथि अज्ञात शख्सले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। उनलाई बचाउन तत्काल आपतकालीन सेवा बोलाइए पनि उपचार अघि नै उनको निधन भएको थियो। लभिभ सैन्य प्रशासनका प्रमुख म्याक्सिम कोजित्स्कीले पारुबीको मृत्यु पुष्टि गरेका छन्।

राष्ट्रपति जेलेंस्कीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भने, “युक्रेनका आन्तरिक मामिला मन्त्री इहोर क्लिमेन्को र महान्यायाधिवक्ता रुस्लान क्राभचेनकोले पारुबीको हत्या भएको जानकारी दिएका छन्। म उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु। अपराधीलाई खोजी भइरहेको छ।”

युरोपेली संसदकी अध्यक्ष रोबर्टा मेत्सोलाले पनि पारुबीको हत्या प्रति दुःख व्यक्त गरेकी छन्। उनले भनिन्, “लभिभमा पूर्व सभामुख आन्द्रेइ पारुबीको सरेआम हत्या भएको खबरले मलाई गहिरो धक्का लागेको छ। उनको परिवार र आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु।”

आन्द्रेइ पारुबी सन् १९९० देखि युक्रेनको राजनीतिमा सक्रिय रहँदै आएका थिए। उनी युक्रेनका संसदका वर्तमान सांसद मात्र नभई पूर्व सभामुखसमेत रहेका थिए। युक्रेनका ठूला राजनीतिक आन्दोलन र जनआन्दोलनमा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

प्रकाशित मिति: २०८२ भाद्र १५, आईतवार ०९:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको