प्रधानमन्त्रीलाई अपशब्द बोलेको विरोधमा भाजपाको प्रदर्शन



एजेन्सी, भदौ १६ । दरभंगामा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपशब्द प्रयोग भएको विरोधमा भारतीय जनता पार्टी भाजपाले विहारमा प्रदर्शन गरेको छ । उक्त प्रकरणलाई लिएर भारतीय जनता पार्टी (भाजपा) लगातार आक्रोशित छ र कांग्रेस तथा राष्ट्रिय जनता दल (राजद) नेताबाट सार्वजनिक माफी माग भइरहेको छ।

आइतबार पटनास्थित भाजपा प्रदेश कार्यालयदेखि सप्त मूर्तिसम्म क्यान्डल मार्च निकालियो। सो अवसरमा भाजपा प्रदेश अध्यक्ष दिलीप जायसवाल, वरिष्ठ नेता तथा सयौँ कार्यकर्ता सहभागी थिए। कार्यकर्ताले हातमा मोमबत्ती र विरोधका पोस्टर बोकेर नाराबाजी गर्दै प्रधानमन्त्रीको अपमान कुनै हालतमा सह्य नहुने चेतावनी दिए।

यसअघि शुक्रबार पटना गांधी मैदानस्थित महात्मा गान्धीको मूर्तिसामु भाजपा कार्यकर्ताले मौन धर्ना दिएका थिए। उनीहरूले हातमा कालो पट्टी बाँधेर शान्तिपूर्ण ढंगले विरोध जनाए। उपस्थित नेताहरूले भने– “प्रधानमन्त्री नरेन्द्र मोदी केवल व्यक्ति मात्र होइन, राष्ट्रको गरिमा र सम्मानको प्रतीक हुन्। उहाँमाथि गरिएको अभद्र टिप्पणी सम्पूर्ण जनता माथिको अपमान हो।”

शुक्रबार कुर्जी मोडदेखि सदाकत आश्रमसम्म पदयात्रा गर्ने क्रममा कांग्रेस समर्थक र भाजपा कार्यकर्ताबीच झडप समेत भएको थियो । दुवैतर्फबाट लाठीचार्ज र ढुंगामुढा भएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गर्दै भारी सुरक्षा बल तैनाथ गर्नुप¥यो।

भाजपा नेतृत्वले स्पष्ट पारेको छ कि जबसम्म तेजस्वी यादव र राहुल गान्धीले सार्वजनिक रुपमा माफी माग्दैनन्, आन्दोलन रोकिँदैन। प्रदेश अध्यक्ष दिलीप जायसवालले चेतावनी दिँदै भने– “यो अब कुनै पार्टीको मात्र होइन, देशको स्वाभिमानको प्रश्न हो। हरेक जिल्ला र प्रखंडमा विरोध प्रदर्शन जारी रहनेछ।”

प्रकाशित मिति: २०८२ भाद्र १६, सोमबार ०७:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको