एजेन्सी, भदौ १७ । लाल सागरमा यमनका हूती विद्रोहीहरूको आतंक जारी रहेको छ । साउदी अरबको तट नजिकै रहेको एक तेल ट्यांकरमाथि हुती विद्रोहीहरुले मिसाइल प्रहार गरेको दाबी गरेका छन्। यस घटनापछि लाल सागरमार्ग हुँदै गुज्रने जहाजहरू पुनः हमलाको जोखिममा परेको आशंका बढेको छ।
हूती सेनाका प्रवक्ता ब्रिगेडियर जनरल याह्या सारीले एक रेकर्ड गरिएको सन्देशमार्फत आक्रमणको जिम्मेवारी लिएका छन्। उनका अनुसार स्कारलेट रे नामक जहाजलाई लक्षित गरिएको हो, जुन इजरायलसँग सम्बन्धित रहेको दाबी गरिएको छ।
ब्रिटिश सेनाको युनाइटेड किंगडम म्यारिटाइम ट्रेड अपरेशन्स सेन्टर ले पनि साउदी तट नजिकै पानीमा ठूलो विस्फोटको आवाज आएको पुष्टि गरेको छ। तथ्यांकअनुसार, नोभेम्बर २०२३ देखि डिसेम्बर २०२४ बीच हूतीहरूले गाजा युद्धको कारण १०० भन्दा बढी जहाजलाई मिसाइल र ड्रोन आक्रमणमार्फत निशाना बनाएका थिए।
यस्ता हमलाहरू त्यतिबेला भएका छन् जब इजरायल–हमास युद्धमा सम्भावित नयाँ युद्धविरामबारे अनिश्चितता कायम छ। गत हप्तामात्र इजरायलले गरेको हवाई हमलामा हूतीका प्रधानमन्त्रीसहित कयौं मन्त्रीहरूको मृत्यु भएको बताइएको छ।




