सप्तरी, भदौ १७ । जनता प्रगतिशिल पार्टी नेपालका अध्यक्ष ह्देयश त्रिपाठीले अव्यवस्थित बसोवासी र सुकुम्वासीलाई ध्यानमा राखी ल्याउन लागिएको भनिएको भूमि विधेयक ले समस्या समाधान नगर्ने भन्दै विधेयक पास भएमा तराई मधेशमा मरभूमीको खतरा बढ्ने बताएका छन् ।
मंगलबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनले यस्तो आरोप लगाएका हुन् । बुधबार राजविराजमा आयोजन हुन लागेको संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्न मंगलबार राजविराज आइपुगेका उनले पत्रकार सम्मेलनमा सरकारले ल्याएको भूमी विधेयक पास भए भूमाफियाहरुलाई नै फाइदा हुने दाबी गरे ।
विधेयक पास भएमा चुरे माथीको अतिक्रमण अझ बढ्ने र चुरे विनासले भूमिगत जलस्तरको पुर्नभरण प्रभावित हुदा मधेशका जिल्लाहरुमा जल संकट बढेर जाने उनले बताए ।
सरकारले दाबी गरे अनुसार विधेयकले भूमि सम्बन्धी सम्स्या समाधान नगर्ने दाबीका साथ उनले भूमि समस्या समाधानका नाममा हुने चलखेल आफूहरुलाई स्वीकार्य नरहेको स्पष्ट पारे । चुरेमाथीका अतिक्रमणका कारण नै अहिले मधेशमा जलसंकट देखिएको कुरा आफूहरुले मात्र नभई स्वतन्त्र विज्ञहरुले समेत बताइरहेपनि सरकारी विज्ञहरुले अर्कै अर्कै कारण देखाई जनतालाई भ्रममा पार्न खोजेको उनको भनाई थियो ।




