प्रशान्त किशोरको घोषणा : बृद्धलाई पेन्सन, निःशुल्क शिक्षा र युवालाई बिहारमै रोजगारी



एजेन्सी
मधुबनी, भदौ १७ । बिहार बदलाव यात्रा अन्तर्गत जन सुराजका सूत्रधार प्रशान्त किशोर (पीके) मधुबनी पुगेका छन् । एमवाईएन उच्च माध्यमिक विद्यालयको मैदानमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदी र राजद अध्यक्ष लालु प्रसाद यादवमाथि कडा प्रहार गर्दै बिहारको बदहालीका लागि यी दुई नेताहरुलाई जिम्मेवार ठहराए।

उनले भने, “मोदीजीले बिहारबाट भोट लिएर गुजरात र महाराष्ट्रमा कारखाना खोलिरहेका छन्, तर बिहारका छोराछोरी त्यहीँ मजदुरी गर्न बाध्य छन्। अर्कोतर्फ लालु यादव आफ्ना ९ कक्षासम्म मात्र पढेका छोरालाई मुख्यमन्त्री बनाउन चाहन्छन्।”

पीकेले जनतालाई अपील गर्दै भने, “मन्दिरका नाममा भोट दिनुभयो, मन्दिर बनिसक्यो। जातिका नाममा भोट दिनुभयो, जाति गणना पनि भयो। अब समय आएको छ कि आफ्ना छोराछोरीको भविष्यका नाममा भोट दिनुपर्छ। बिहारका जनतालाई अब बदल्ने बेला आएको छ।”

प्रशान्त किशोरले मधुबनीमा २०२५ डिसेम्बरदेखि ६० वर्षभन्दा माथिका सबै वृद्धलाई मासिक २,००० रुपैयाँ पेन्सन, सरकारी विद्यालयको गुणस्तर सुधारिने र १५ वर्षभन्दा कम उमेरका बालबालिकाको निजी विद्यालय शुल्क सरकारले व्यहोर्ने, जसले गर्दा गरिब बच्चाले पनि अंग्रेजी माध्यममा पढ्न सक्ने तथा राज्यका ५० लाख युवालाई १०–१२ हजार रुपैयाँ तलबसहित बिहारमै रोजगारीको ग्यारेन्टी दिने घोषणा गरेका छन ।

किशोरले भने, “यो वर्ष बिहारको बदहालीको अन्तिम दिवाली र छठ हुनेछ। अबदेखि बिहारको युवा आफ्नो घर छोड्न बाध्य हुने छैन।”

जनसभामा ठूलो भीड देखिएको थियो। उनका घोषणाले मधुबनी मात्र होइन, सम्पूर्ण बिहारको स्थानीय राजनीतिमा नयाँ हलचल ल्याएको देखिन्छ।

प्रकाशित मिति: २०८२ भाद्र १७, मंगलवार ०७:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको