एजेन्सी, भदौ १८ । अफगानिस्तानको पूर्वी क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या १,४०० नाघेको छ भने ३,००० भन्दा बढी व्यक्ति घाइते भएका छन् । तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ‘एक्स’मार्फत् जानकारी दिँदै जीवित बाँचेका मानिसहरूको खोजीमा उद्धार टोलीहरू खटिएका बताए।
अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (USGS) का अनुसार, आइतबार राति जलालाबाददेखि करिब २७ किलोमिटर टाढा ८ किलोमिटर गहिराइमा ६.० तीव्रताको भूकम्प आएको थियो। ठूलो धक्कापछि सोही क्षेत्रमा ५.२ तीव्रताका थप दुई भूकम्प पनि आएका थिए। कुनार प्रान्तका नुर्गल, सावकी, वाटपुर, मनोगी, चौके र चापा दारा जिल्लामा सबैभन्दा बढी क्षति भएको जनाइएको छ। पहाडी भूभाग र संचार अवरोधका कारण उद्धारकर्मीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ।
अफगानिस्तान भूकम्पीय दृष्टिले अति संवेदनशील क्षेत्र हो। यहाँको हिन्दू कुश पर्वतमालामा बारम्बार सतही र गहिरा भूकम्प आउँछन्। भारतीय र युरेसियन प्लेटबीचको टेक्टोनिक टक्करले यो क्षेत्र निरन्तर सक्रिय रहन्छ ।
सन् २०२१ मा तालिबान सत्तामा आएपछि यो तेस्रो ठूलो भूकम्प हो। सन् २०२४ मा आएको भूकम्पमा १,००० भन्दा बढी मानिस मारिएका थिए भने २०२३ मा ६.३ तीव्रताको भूकम्पले १,५०० जनाको ज्यान लिएको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पप्रति गहिरो दुख व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन्— “अफगानिस्तानमा भूकम्पका कारण भएको ठूलो क्षतिप्रति हामी दुःखी छौँ। हाम्रो संवेदना शोकाकुल परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। भारत प्रभावित जनतालाई सबै प्रकारको मानवीय सहायता र राहत दिन तयार छ।”
विदेश मन्त्री एस. जयशंकरले पनि भारतको तर्फबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।






