एजेन्सी, भदौ १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नी आमा हीराबेन मोदीको आत्माको शान्तिका पिंडदान गर्न १७ सेप्टेम्बरमा गाया आउने भएका छन ।
यो यात्रा केवल राजनीतिक दृष्टिले मात्र नभई धार्मिक र आध्यात्मिक कारणले पनि निकै महत्वपूर्ण मानिएको छ। प्रधानमन्त्री मोदीले यस अवसरमा आफ्नी आमा हीराबेन मोदीको आत्माको शान्तिका लागि विष्णुपद मन्दिरमा पिंडदान गर्नेछन्।
हिन्दू धर्ममा गया स्थित विष्णुपद मन्दिरलाई पिंडदानका लागि सबैभन्दा पवित्र स्थल मानिन्छ । विश्वास गरिन्छ कि यहाँ पिंडदान गर्दा पूर्वजहरूलाई मोक्ष प्राप्त हुन्छ । यही परम्परा अनुसार प्रधानमन्त्री मोदीले आफ्नी आमाको आत्मशान्तिका लागि वैदिक मन्त्रोच्चारणबीच स्थानीय पण्डितहरूको मार्गदर्शनमा विधिवत् पिंडदान गर्नेछन्।
पिंडदानपछि प्रधानमन्त्री मोदीले गया शहरका प्रमुख मार्ग हुँदै भव्य रोड शो गर्ने कार्यक्रम रहेको छ। हजारौं समर्थक र श्रद्धालुहरूको उपस्थितिमा आयोजना हुने यो रोड शोपछि उनले एक आमसभालाई सम्बोधन गर्नेछन् । सभामा प्रधानमन्त्रीले केन्द्र सरकारका उपलब्धि, विकास योजना तथा बिहारको भविष्यप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। आगामी विधानसभा चुनाव नजिकिँदै गरेको अवस्थामा यस आमसभालाई राजनीतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएको छ।
प्रधानमन्त्रीको यात्रालाई मध्यनजर गर्दै गया जिल्ला प्रशासन पूर्ण सतर्क अवस्थामा छ। सुरक्षा, यातायात र भीड व्यवस्थापनका लागि डीएम र एसपीलाई विशेष जिम्मेवारी दिइएको छ। पितृपक्षका बेला गयामा लाखौं श्रद्धालु आउने भएकाले प्रधानमन्त्रीको उपस्थितिमा कुनै अवरोध नहोस् भन्ने लक्ष्यका साथ कडा सुरक्षा व्यवस्था मिलाइँदैछ।




