जनकपुरधाम, भदौ १९ । नेपाल मधेशी निजामती कर्मचारी मञ्चले वृक्षरोपण गरेर निजामती दिवस मनाएको छ । नेपाल मधेशी निजामती कर्मचारी मञ्चका केन्द्रीय अध्यक्ष लालबाबु यादवको प्रमुख आतिथ्य तथा महासचिव अनिलकुमार साहको विशेष उपस्थितिमा निजामती दिवस मनाइएको छ ।
व्यवसायिक र सिर्जनशिल प्रशासनः विकास, समृद्धि र सुशासन भन्ने मुल नाराका साथ २२ औं निजामती दिवसको साताव्यापी रुपमा मनाइएको छ । साताव्यापी कार्यक्रम अन्तर्गत जनकपुरधामको भ्रमरपुरा चोक स्थित विभिन्न प्रजातिका विरुवाहरु रोपेर नेपाल मधेशी निजामती कर्मचारी मञ्चले निजामती दिवस मनाइएको महासचिव अनिलकुमार साहले जानकारी दिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय अध्यक्ष यादवले मधेशलाई मरुभूमि हुनवाट जोगाउन वृक्षरोपण गर्न सवैलाई आग्रह गरेका छन् । उनले मधेशमा अहिले पानीको समस्या हुनु, पानीको सतह घट्नु, समयमा पानी नपर्नु लगायत जलवायु परिवर्तन हुनवाट जोगाउन वृक्षरोपण गर्नु अपरिहार्य रहेको बताए । उनले भने–‘अहिले धाराहरुमा पानी नआउनु, नदीनाल सुक्नु, समयमा आकाशे पानी नपर्नु, कहिले अनावृष्टि, कहिले अतिवृष्टि लगायतका समस्यावाट बच्न वृक्षरोपण गर्नु जरुरी छ ।’
कार्यक्रममा केन्द्रीय महासचिव अनिलकुमार साहले सरकारी स्तरवाट सञ्चालन भई रहेको कार्यक्रममा आम जनसमुदायको पूर्ण सहभागिता र सहकार्यको आवश्यकता रहेको बताए । उनले आम जनसमुदाय जागरुक र सतर्क रहन आग्रह गरे । उनले भने–‘जनसमुदायको सहकार्य बिना सरकारी स्तरवाट भएको काम प्रभावकारी हुन सक्दैन् । आम जनसमुदाय जागरुक भए भएको काम प्रभावकारी हुन्छ ।’
निजामती कर्मचारी दिवसको अवसरमा जनकपुरधाममा विभिन्न कार्यक्रम गरिएको थियो ।





