एजेन्सी, भदौ १९ । बिहार विधानसभाको निर्वाचनलाई केन्द्रित गर्दै बिहार बीजेपीको महत्पूर्ण बैठक दिल्लीमा सम्पन्न भएको छ । गृहमन्त्री अमित शाहको निवासमा बुधबार सम्पन्न बैठकमा सीट बाँडफाँड, चुनाव प्रचारको रणनीति र केन्द्र तथा राज्य सरकारले गरेका विकास कार्यहरूलाई जनताको घर–घरमा पु¥याउने विषयमा विस्तृत छलफल भएको स्रोतले जनाएको छ।
बैठकमा बीजेपी अध्यक्ष जेपी नड्डा, राष्ट्रिय संगठन महामन्त्री बीएल सन्तोष, बिहार भाजपा अध्यक्ष दिलीप जायसवालसहित अनेक वरिष्ठ नेता सहभागी थिए । बैठकपछि दिलीप जायसवालले सञ्चारकर्मीलाई जानकारी दिँदै विपक्षी दलहरूले फैलाइरहेको भ्रमबारे पनि गहन चर्चा भएको बताए । उनले भने, “एनडीएतर्फबाट २५ सेप्टेम्बरसम्म प्रत्येक विधानसभा क्षेत्रमा कार्यकर्ता सम्मेलन आयोजना गरिनेछ, जसमा केन्द्र र राज्यका ठूला नेताहरू उपस्थित हुनेछन्।”
बैठकमा चुनावी तयारीलाई उर्जा दिन चुनाव अभियान समिति गठन गर्ने निर्णय भयो, जसमा सबै प्रमुख नेता रहनेछन् । साथै, उम्मेदवार छनोटको लागि छुट्टै समिति पनि बनाइनेछ। संगठनात्मक स्तरमा पनि ठूलो निर्णय गर्दै प्रत्येक विधानसभा क्षेत्रमा एक प्रभारी तोकिनेछ, जसले जमीनी स्तरमा चुनावी गतिविधि सम्हाल्नेछ।
बैठकले भाजपा कार्यकर्ताहरु प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नीतीश कुमारको नेतृत्वमा भएका विकास कार्यहरूलाई आम नागरिकसम्म पु¥याउन अभियान चलाउने निर्देश गरेको छ।
बैठकअघि राजनीतिक तापक्रम त्यतिबेला चर्कियो जब हिन्दुस्तानी आवाम मोर्चा (हम) का नेता तथा मन्त्री जीतन राम माँझीले एनडीएसँग २० सिटको माग गरे। उनले भने, “यदि एनडीएलाई हामीप्रति सहानुभूति छ भने कम्तीमा २० सिट दिनुपर्छ।”
त्यसैबीच उपेन्द्र कुशवाहाले टिप्पणी गर्दै भने, “आजको बैठक भाजपा कै हो, एनडीएको होइन।” सीट मागबारे उनले व्यंग्य गर्दै भने, “हामीले के सोचिरहेका छौं, त्यो मनमै राख्छौं, तपाईंलाई भने बताउँदैनौं।”
जसरी बिहार विधानसभा चुनाव नजिकिँदै गएको छ, एनडीए भित्र रणनीति र सीट बाँडफाँडबारे गतिविधि तिव्र बनेको छ। अब प्रश्न उठ्छ — सहयोगी दलहरूको माग र भाजपा नेतृत्वको रणनीतिमा कसरी सन्तुलन मिलाइनेछ?






