राजविराज, भदौ १९ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सत्तापक्षलाई लाभ पुर्याउन जनमत पार्टी मोर्चाबाट अलग भएको बताएका छन ।
बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले जनता मोर्चाबाट अलग भएको भन्दा उनि मोर्चाबाट भागेको बताए । शाषक वर्गलाई नै मजबुत तुल्याउने षडयन्त्र र कसैको इशारामा लागेर जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रुपन्देही ३ मा हुने उपनिर्वाचन छुट्टै उम्मेदवारी दिन लागेको उनले स्पष्ट पारे ।
यद्दपी डा. राउत कसको इसारामा चलेको हो भन्ने सन्दर्भमा राखिएको जिज्ञासाको जवाफमा उनले केही समय पर्खन तथा समय आएपछी सबै कुरा आफै खुल्ने बताए ।
मोर्चाको संयुक्त उम्मेदवारलाई कमजोर तुल्याई सत्ताधारी दलका उम्मेदवारलाई लाभ पुर्याउने उद्देश्यले जनमत अध्यक्ष डा. राउतले रुपन्देही ३ मा उम्मेदवार खडा गर्न खोजेको दाबीका साथ उनले मोर्चाका संयुक्त उम्मेदवारको मत काट्नैका लागि जनमत पार्टीले छुट्टै उम्मेदवारी दिन लागेको जिकिर गरे ।
“मधेशी अनुहारले मात्र मधेशको हिमायती हुँदैन, उनले भने –डा. राउतको गतिविधीले पनि यस्तै आशंका उब्जाएको छ, बाँकी कुरा आगामी दिनहरुमा प्रष्ट हुँदै जाने छ ।”
अर्को प्रसंगमा अध्यक्ष महतोले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसित एकता गर्ने उद्देश्यका साथ अहिले कार्यगत एकता सुरु गरिएको बताएका छन् ।
“छुटिएर काम गर्दा कमजोर हुने भएका कारण अब एकिकृत भएर शसक्त ढंगले अघि बढ्न कार्यगत एकता गरिएको हो, नेता महतोले भने–यसबाट मात्र आफूहरुले थालेको मुक्तिका आन्दोलन निष्कर्षमा पु¥याउन सम्भव छ ।”
उनले निकट भविष्यमै जसपासँग एकता हुने जानकारी पनि दिए । मधेशी, आदिवासी, जनजाती, दलित लगायत सम्पूर्ण उत्पीडित वर्गको अधिकार र पहिचान स्थापनाका लागि एकिकृत भएर आन्दोलनमा उत्रनुको विकल्प नरहेको बताउँदै उनले संघिय लोकतान्त्रिक मोर्चा पनि यही उद्देश्य प्राप्तिका लागि गठन भएको स्पष्ट पारे ।
शाषक वर्गले मधेशी लगायत उत्पीडित वर्गलाई अधिकार दिन नचाहेको आरोपका साथ उनले अधिकारबाट बञ्चित गर्न कै लागि नक्कली संघीयता लागु गरिएको टिप्पणी गरे । “अधिकार बिनाको संघियताको कुनै अर्थ हुँदैन उनले भने, –अहिले यस्तै अवस्था छ ।”
पत्रकार सम्मेलनमा पार्टीका महासचिव केशव झा, सन्तोष मेहता, सहमहासचिव गजेन्द्र कुमार मण्डल, जिल्ला अध्यक्ष दिपेन्द्र चौधरी लगायतको पनि उपस्थिति रहेको थियो ।




