एजेन्सी, भदौ १९ । चीनका राष्ट्रपति शी चिनफिङले विश्वलाई शान्ति र युद्धमध्ये एउटा रोज्नुपर्ने समय आएको बताएका छन् । द्वितीय विश्वयुद्धमा जापानविरुद्धको विजयको ८०औं वर्षगाँठको अवसरमा आयोजित भव्य सैनिक परेडमा चिनियाँ सेनाले पहिलो पटक धेरै नयाँ र अत्याधुनिक हतियार सार्वजनिक गर्दै आफ्नो शक्ति प्रदर्शन गरेको हो ।
करीब ७० मिनेट लामो परेडमा करिब १० हजारभन्दा बढी सैनिक सहभागी भए भने सयभन्दा बढी विमान, सयौं ट्यांक तथा बख्तरबन्द गाडी प्रस्तुत गरियो।
डीएफ–५सी अन्तरमहाद्वीपीय मिसाइल ः २० हजार किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने क्षमतासहित पहिलो पटक सार्वजनिक।
डीएफ–२६डी मध्यम दूरीको मिसाइल ः ५ हजार किलोमिटरसम्म मार गर्न सक्षम।
एलवाई–१ लेजर हतियार ः शत्रुको हतियार र उपकरणका अप्टिकल सेन्सर नष्ट गर्न सक्ने।
जे–२० सिरिज र जे–३५ए लडाकु विमान ः पाँचौं पुस्ताका स्टेल्थ फाइटर जेटहरू समेत पहिलो पटक देखाइयो।
थ्येनआनमेन चौकमा आयोजित परेडलाई सम्बोधन गर्दै चिनफिङले भने, “जबसम्म संसारका देशहरूले समान व्यवहार, सद्भाव र परस्पर समर्थन गर्दैनन्, साझा सुरक्षा सम्भव हुँदैन। शान्ति रोज्दा मात्रै युद्धका कारण अन्त्य गर्न सकिन्छ र इतिहासका त्रासदीहरू दोहोरिनबाट बचाउन सकिन्छ।”
समारोहमा रसियाका राष्ट्रपति भ्लादिमिर पुतिन, उत्तर कोरियाका नेता किम जोङ उन, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइज्जूलगायत २६ देशका नेताहरू उपस्थित थिए।
तर, अमेरिका, जापान, दक्षिण कोरिया र युरोपेली संघका नेताहरूले भने दूरी बनाए।
परेडपछि भएको भेटमा किमले पुतिनलाई “रूसलाई हरतरहले सहयोग गर्ने” वाचा गरे। पुतिनले भने युक्रेन युद्धमा उत्तर कोरियाली सैनिक पठाएकोमा किमलाई धन्यवाद दिए।
यो शक्ति प्रदर्शनलाई चीनले केवल सैन्य मात्र नभई कूटनीतिक शक्ति देखाउने अवसरका रूपमा पनि प्रयोग गरेको छ।






