एजेन्सी, भदौ २० । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेंस्की र युरोपेली नेताहरूले बिहीबार पेरिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकोफसँग भेटघाट गर्दै युद्धग्रस्त युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे छलफल गरेका छन् । बैठकपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले युद्धविरामपछि युक्रेनमा सैनिक तैनाथ गर्न २६ देश तयार रहेको जानकारी दिए।
यो बैठक भइरहँदा रूसले युक्रेनमा ११२ ड्रोनमार्फत आक्रमण गरेको हो । युक्रेनी वायुसेनाले तीमध्ये ८४ वटा ड्रोन खसालिएको जनाएको छ।
युक्रेनी राष्ट्रपति जेलेंस्की र ट्रम्पका विशेष दूत विटकोफबीच छुट्टै बैठक पनि भएको प्रेस सचिव सेरही निकीफोरोभले बताए। युद्धविरामको अवस्थामा सहायता र सैन्य समर्थनका योजनाहरू तयार गर्न युरोपेली नेताहरूलाई संलग्न गराइएको हो।
युक्रेन समर्थनमा गठबन्धनको अगुवाइ गरिरहेका म्याक्रों र बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले युक्रेनमा कुनै पनि युरोपेली बलको उपस्थिति अमेरिकाको समर्थनबिना सम्भव नहुने बताए।
रायटर्सका अनुसार, म्याक्रोंले बैठकपछि जेलेंस्कीसँग पत्रकारलाई सम्बोधन गर्दै भने, “रूससँग शान्ति सम्झौता भएपछिको अवस्थामा युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने सर्तमा २६ देश अन्तर्राष्ट्रिय बलमा सामेल हुन तयार छन्।” जर्मनीले पनि युक्रेनी सेनाका लागि थप फन्डिङ र तालिम बढाउने सहमति जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली नेताहरूसँग रूसबाट तेल किन्ने कार्य तत्काल बन्द गर्न आग्रह गरेका छन्। उनका अनुसार, यसले मास्कोलाई युक्रेनविरुद्ध युद्धका लागि धन जुटाउन मद्दत गरिरहेको छ। यद्यपि ट्रम्पले रूस–युक्रेनबीच शान्ति सम्झौतामा आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।
गत महिना अलास्कामा ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमिर पुतिनबीच भेट भए पनि युद्ध अन्त्य गर्ने दिशामा खासै प्रगति नभएको प्रष्ट भएको छ। यसबीच जेलेंस्की र पुतिनबीच सीधा वार्ताको सम्भावना अझै अनिश्चित छ।






