‘म कुनै दलको होइन, संविधानको उम्मेदवार हुँ’ – पूर्व न्यायाधीश रेड्डी



एजेन्सी
पटना, भदौ २० । भारत उपराष्ट्रपति पदका लागि विपक्षी दलहरूको साझा उम्मेदवार पूर्व न्यायाधीश बी. सुदर्शन रेड्डीले बिहीबार पटनामा महागठबन्धनका नेतासँग भेट गरी समर्थन मागेका छन् । उनले आफू कुनै दलको होइन, संविधानको उम्मेदवार भएको बताए ।

रेड्डीले भने, “म कुनै राजनीतिक दलको प्रतिनिधि भएर आएको होइन। मेरो जीवन न्यायपालिकाको सेवामा बितेको छ। उपराष्ट्रपति पद केवल राज्यसभाको सभापति मात्र होइन, यो लोकतान्त्रिक मर्यादा र संवैधानिक सन्तुलनको प्रतीक हो।”

उनले संविधानको पुस्तक देखाउँदै भने, “यो पद मेरो व्यक्तिगत महत्वाकांक्षा होइन, संविधान र लोकतन्त्रको सेवाको अवसर हो । संसद् संख्याबलको खेल होइन, संसद् बहस र विमर्शको मञ्च हो, जहाँ प्रत्येक आवाज सुन्नुपर्छ।”

यस अवसरमा नेता प्रतिपक्ष तेजस्वी यादवले भाजपा र एनडीएलाई आक्रामक ढङ्गले प्रहार गर्दै भने, “गुजरातका दुई व्यक्तिले मुलुकका सबै संस्थामाथि कब्जा जमाएका छन्। उनीहरू लोकतन्त्रलाई समाप्त पार्न खोज्दै छन्।”

तेजस्वीले थपे, “जस्टिस रेड्डी उपराष्ट्रपति बनेपछि संसद् अझ प्रभावकारी रूपमा सञ्चालन हुनेछ। संविधानप्रति यति ज्ञान र प्रतिबद्धता अरूमा छैन।”

कार्यक्रममा कांग्रेस अध्यक्ष राजेश राम, सीपीआईका रामलला प्रसाद सिंह, सीपीएमका ललन चौधरी, वीआईपीका मुकेश सहनी, भाकपा (माले) का राजाराम सिंह लगायत विभिन्न दलका नेताले पनि समर्थनको घोषणा गरे।

सांसद नासिर हुसैन, डा. अखिलेश प्रसाद सिंह, कृष्णा अल्लावरु, डा. शकील अहमद खान, अब्दुल बारी सिद्दीकी, संजय यादव, आलोक मेहता, शिवचन्द्र राम लगायतका सांसद र विधायकहरू कार्यक्रममा उपस्थित थिए।

प्रकाशित मिति: २०८२ भाद्र २०, शुक्रवार ०७:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको