मुजफ्फरपुरमा गुन्जियो चिराग पासवानलाई मुख्यमन्त्री बनाउने नारा



एजेन्सी, भदौ २० । बिहारको मुजफ्फरपुरमा विहीवार चिराग पासवानलाई मुख्यमन्त्री बनाउने नारा गुन्जिएको छ।
आइटी कलेज मैदानमा बिहीबार लोक जनशक्ति पार्टी (रामविलास) द्वारा आयोजित नव संकल्प महासभामा सहभागी नेता कार्यकर्ताहरुको बारम्बार नारा गुन्जियो – “हाम्रो मुख्यमन्त्री कस्तो ? चिराग पासवान जस्तो ।” विशेष कुरा त के थियो भने, सो नाराको बीचमै स्वयं केन्द्रीय मन्त्री चिराग पासवान मंचमा उपस्थित थिए ।

चिराग पासवानले आफ्नो सम्बोधनमा राजद र कांग्रेसमाथि तिखो प्रहार गरे भने चाचा पशुपतिनाथ पारसमाथी पनि प्रश्न उठाए । उनले भने, “आगामी विधानसभा चुनाव २०२५ केवल सत्ता परिवर्तनको चुनाव होइन, यो बिहारको आगामी पाँच वर्षको भविष्य तय गर्ने निर्णायक चुनाव हो ।”

तेजस्वी यादवको ः एमवाई (मुस्लिम–यादव) समीकरणलाई पल्टाउँदै चिरागले नयाँ परिभाषा दिए। उनले भने, “मेरो लागि एमवाई को मतलब हो एम बाट महिला र वाइ बाट युवा । यही मेरो सबभन्दा ठूलो शक्ति हो र बिहारको भविष्य पनि।”

भावुक बन्दै उनले भने, “पिता रामविलास पासवानको निधनपछि मलाई तोड्ने धेरै प्रयास भए। परिवारदेखि पार्टी र घरसम्म अलग गर्न खोजियो। तर चिराग न टुट्यो, न झुक्यो। जसले सोचेका छन् कि म सकिन्छु, उनीहरूले बिर्सेका छन् कि म शेरको छोरो हुँ।”
चिरागले राज्यको विकासको अवस्थामाथि प्रश्न उठाउँदै भने, “८० वर्षभन्दा बढी स्वतन्त्रता भइसके पनि बिहार अझै पिछडिएको छ। दिल्ली–मुंबईका युवाहरू यहाँ रोजगारीका लागि आउँदैनन्, उल्टै हामी पलायन गर्नुपर्छ। शिक्षा, स्वास्थ्यका लागि बाहिर धाउनुपर्छ। आखिर किन?” उनले भने, “म त्यस्तो बिहार चाहन्छु जहाँ रोजगारी, शिक्षा र स्वास्थ्य सेवाका लागि बाहिर जान नपरोस्, बरु अन्य राज्यका मानिस यहाँ आउन्।”

कार्यक्रममा उनले आफ्नो मिशन “बिहार फस्र्ट, बिहारी फस्र्ट” लाई थप धार दिने घोषणा गरे। शिक्षा, रोजगारी, स्वास्थ्य र पूर्वाधारमा ठूला निर्णय गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: २०८२ भाद्र २०, शुक्रबार ०७:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको