रौतहटमा बोक्सीको आरोपमा एक महिलालाई निर्घात कुटपिट, महिलाको कपाल काटी मलमूत्र समेत खुवाइयो 



ओम प्रकाश यादव
रौतहट, भदौ २३ । रौतहटमा बोक्सीको आरोपमा एक वृद्ध महिलालाई निर्घात कुटपिट गरिएको छ ।

जिल्लाको गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडियाका रामएकवाल साह बानियाको ५५ वर्षिया श्रीमति सुशिला देवीलाई बोक्सीको आरोपमा छिमेकीहरुले आज निर्घात कुटपिट गरी कपाल समेत काटेर मलमुत्र खुवाएको घटना बाहिर आएको छ ।

स्थानीय ४० वर्षिय दिनेश साह कानु, कानुका २२ वर्षिय छोरा गोलु साह कानु र सोही ठाउँका ३५ वर्षिय विक्रम साह कानु तिनै जना मिलेर सुशिला देवीलाई बोक्सीको आरोप लगाई मरनाशन हुने गरी निर्घात कुटपिट गरेको र कुटपिटपछि कपाल मुंडन गरी दिशा खुवाएको पिडित पक्षले बताएको छ ।

सामुहिक कुटपिटबाट घाइते भएकी सुशिला देवीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

आइतवार दिउँसो बोक्सीको आरोपमा बसबिट्टि जिङ्गडियाका दिनेश साह कानु, उनको छोरा गोलु र विक्रम साह मिलेर सुशिला देवीलाई कुटपिट गर्नुका साथै उनको कपाल समेत काटिदिएको र दिशा पनि खुवाएको इलाका प्रहारी कार्यालय गरुडाले जनाएको छ ।
घटना कसरी भयो

कुटपिट गर्ने मध्येका दिनेश साह कानुको श्रीमति ३७ वर्षिया संगिता देवी आज विहान अक्स्मात बिरामी भएकी थिइन् । त्यसपछि परिवारका सदस्यहरुले उनलाई उपचारका लागि गरुडा स्थित रहेको रोमा हस्पिटलमा लगेका थिए ।

तर रोमा हस्पिटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विरगंजतर्फ लैजाने क्रममा संगिता देवीको आज दिउँसो २ बजेको समयमा बाटोमै मृत्यु भएको थियो ।

छिमेकी रामएकवाल साह बानियाको ५५ वर्षिया श्रीमति सुशिला देवीले नै टुनामुना लगाएको कारण बिरामी भई संगिता देवीको मृत्यु भएको भन्दै मृत्क संगिता देवीका श्रीमान दिनेश साह कानु लगाएत तिन जना मिलेर सुशिला देवीलाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

बोक्सीको आरोपमा सुशिला देवीलाई कुटपिट गरिएको र कपाल समेत काटेर दिशा खुवाएको खबर प्राप्त हनासाथ दिउँसो तिन बजेको समयमा प्रहरी चौकी विर्ताका प्रहरी सहायक निरीक्षक र इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र ढकालको कमाण्डमा तत्काल प्रहरी टोली पुगेर महिलाको उद्धार गरेका थिए ।

प्रहरी टोली घटनास्थल पुग्ने वित्तिकै कुटपिट गर्नेहरु तिनै जना फरार भएका थिए । फरार भएका उनिहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

पिडित परिवार दोषीलाई पक्राउ गरी कार्यवाही गर्न भन्दै आज साँझ इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दरखास्त दिएका छन् । बोक्सीको आरोपमा वृद्ध महिलालाई अमानवीय व्यवहार गर्ने दोषीहरुमाथी मुद्दा चलाउने प्रहरीको तयारी छ ।
घटना बारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र २३, सोमवार ०८:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको