ओम प्रकाश यादव
रौतहट,भदौ २४।
जेनजीहरुको प्रदर्शन ले रौतहट समेत आक्रान्त बनेको छ।
आज बिहानैदेखि जेनजीका युवा पुस्ताहरुले रौतहटको ठाउँ ठाउँमा प्रदर्शन गर्नुका साथै दलका कार्यालय, सरकारी कार्यालय र प्रहरी कार्यालयमा व्यापक तोडफोड तथा आगजानी गरेका छन्।
प्रदर्शनकारीहरुले हालसम्म इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको सबै सवारी साधन आगो लगाएर जलाइदिएका छन् भने सो कार्यालय भित्र पनि आगजानी गरेका छन्।
आगलागीबाट इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी चढ्ने सबै सवारी साधन जलेर पूर्ण रुपमा खरानी भएको छ।
ईप्रका चन्द्रपुरको कार्यालय भित्र समेत आगजनी गरिएको छ।
त्यस्तै प्रदर्शनकारीहरुले चन्द्रपुर नगरपालिका कार्यालयमा समेत तोडफोड गरी आगजनी गरेका छन्।
आन्दोलनकारीहरुले चन्द्रपुर नगरपालिका कार्यालयमा आगो लगाउनुका साथै सो कार्यालयको तिनवटा सवारी साधन आगो लगाई जलाइदिएका छन्।
आगजनीबाट चन्द्रपुर नगरपालिकाका दुईवटा ट्याक्टर र एक अन्य गाडी गरी तीनवटा सवारी साधन पूर्ण रूपमा जलेर नष्ट भएको छ।
आगलागीबाट चन्द्रपुर नगरपालिका कार्यालयमा व्यापक क्षति पुगेको छ।
त्यस्तै गौरमा रहेको नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी लगायत पार्टीको कार्यालयमा तोडफोड तथा आगजानी गरिएको छ।
प्रदर्शनकारीहरुले जिल्लाको विभिन्न सरकारी कार्यालयमा ढुंगामुढा तथा तोडफोड गरिरहेका छन्।
जिल्लाको गौर चन्द्रपुर सडकखण्डको गौर, गरुडा, चन्द्रपुर सहित करिव सबै चोकहरुमा आन्दोलनकारीहरुले सडक अवरुद्ध गरी टायर बालेर प्रदर्शन गरिरहेका छन्।
प्रदर्शनका कारण गौर चन्द्रपुर सडकखण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। अहिले सो सडकखण्डमा मानिसहरूको आवातजावत पूर्ण रूपमा बन्द जस्तै नै छ।
त्यस्तै समनपुर, कटहरिया सहित जिल्लाको सबै ठाउँहरूमा बिहानदेखि प्रदर्शन भइरहेको छ। आन्दोलनका कारण जिल्लाको जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ।




