जनकपुरधाम, भदौ २६ । संघीय लोकतान्त्रिक मोर्चाले परिवर्तनको नाउमा नेपाली जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ताको प्रतिकुल हुने कार्य स्वीकार्य नहुने जनाएको छ ।
मोर्चाका सचिवालय संयोजक डा. शिवजी यादवले विज्ञप्ति जारी गरि जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ता, संविधान र संसदको प्रतिकुल हुनेगरी गरिएको कार्य मोर्चालाई स्वीकार्य नहुने जनाएको छ ।
वर्तमान संविधानप्रति मोर्चाको गम्भीर असन्तुष्टि र विमति भएता पनि सार्वभौमसत्ता सम्पन्न जनताको जननिर्वाचित प्रतिनिधि संस्था संघीय व्यवस्थापिका संसद नै भएको हुँदा संसद र संविधान भित्रै बाट समस्याको समाधान खोज्नु पर्ने स्पष्ट पारेको छ । मोर्चाले परिवर्तनको नाउमा हुन सक्ने असंवैधानिक बाटो , अतिवादी चिन्तन र विचार तगा प्रगमनकारी चलखेल एवं षडयन्त्रबाट सतर्क रहन अपील समेत गरेको छ ।
मोर्चाले सुशासन , भ्रष्टचार नियन्त्रन सहितको मांग राख्दै आन्दोलन गरेको जेनजी पुस्ताको न्यायोचित मांगलाई केपी शर्मा ओली नेतृत्वको सरकारले सम्बोधन गर्नुको सट्टा सत्ता र शक्तिको दम्भमा उल्टै दमनकारी नीति लिई दर्जनौ युवाको हत्या र हजारौलाई घाइते बनाएको प्रति भत्र्सना एवं निन्दा गरेको छ ।
जेनजी आन्दोलनका शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै मोर्चाले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना एवं शोक सन्तप्त परिवार प्रति समवेदना समेत प्रकट गरेको छ ।
केपी ओली नेतृत्वको सरकार पतन भइ सकेको वर्तमान परिपेक्ष्यमा युवा पुस्ताको मांगलाई सम्बोधन हुनेगरि लोकतान्त्रिक मुल्य मान्यता अनुरुप नया सरकार गठन गरि मुलुकलाई निकासको मार्ग प्रसस्त गर्न मोर्चाले सम्बन्धित सरोकारबालाहरु संग अपील समेत गरेको छ ।




