संसद विघटन आवश्यक ,तर संविधान संशोधन पछि !



अतिश कुमार मिश्र

जेनजी आन्दोलनले भत्काएको पुरातन राजनीतिक दलदलबाट मुलुक नयाँ राजनीतिक कोर्समा प्रवेश गरेको छ । घटनाले कुनै नयाँ मोड नलिए सम्भवतः आजै मुलुकले नयाँ सरकार प्रमुख पाउने छन । पूर्व प्रधानन्यायधिश सुशिला कार्कीलाई नयाँ सरकार प्रमुख बनाउने सहमति लगभग जुटी सकेको छ ।

तर कुरो नमिलेको चाही संसद विघटनमा हो । दलहरु जसरी पनि संसदलाई जोगाउने प्रयत्न गरि रहेका छन भने जेनजी आन्दोनलका अगुवाहरुले संसद विघटनलाई बटम लाइन बनाएको छ।

संसद विघटन हुनै पर्छ , तर त्यसको समय अहिले उपयुक्त होइन की जस्तो मलाई पनि लागेको छ ।

जेनजी आन्दोलनको मुख्यमांगहरुमा कार्यकारी प्रमुख रहेको छ । कार्यकारी प्रमुख लगायतको विषयमा संविधान संशोधन गर्न संसद अनिवार्य चाहिन्छ । संसद बाहिर गएर संविधान संशोधनको परिकल्पना समेत गर्न सकिदैन ।

२०६२/०६३को जनविद्रोह र त्यस पछि भएको मधेश विद्रोह लगायतका आन्दोलनहरुको बलमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको विषयमा अझै धेरै असन्तुष्टिहरु कायमै रहेका छन । जसले सबैको मुलुक अझै बन्न सकेको छैन ।, मधेश आन्दोलनका अगुवाहरुले संविधानलाई जस्ताको त्यस्तै मान्ने अवस्थामा छैनन् । विरोध कायमै राखेका छन । भने जनजाती आदिवासी लगायतका उत्पिडित समुदायले संविधानका कतिपय प्रावधानलाई संशोधन गर्ने मांग गर्दै आएका छन ।

जेनजी आान्दोलन ले सबैको मुलुक बनाउने अवसर जुराई दिएको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक संसद, पहिचान सहितको अधिकार सम्पन्न संघीयता , संसद र मन्त्री बन्न उमेर हद एवं शैक्षिक योग्यता लगायतको विषयमा संविधान संशोधनको लागि यही संसदलाई उपयोग गर्नु आवश्यक छ ।

जेनजी आन्दोलन सकिएको छैन । माथि उल्लेखित कतिपय विषयहरु जेनजी आन्दोलनका अगुवाहरुले पनि उठाउदै आएको मांग हरु हुन भने आन्दोनलमा रहेका उत्पिडित समुदायहरुले समेत यो मांग लाई उठाउदै आएका छन । समान धारणा बोकेका आन्दोलनरत दुई शक्तिको समन्वयले यही संसदबाट संविधान संशोधन गराई नयाँ निर्वाचनमा जान सक्ने प्रसस्त आधारहरु रहेको छ ।

संसद अहिले नै विघटन गरिए , कुन कानूनको आधारमा नयाँ निर्वाचनमा जाने जटिलता थपिन सक्छ । जसले फेरी नयाँ अन्यौलता र प्रतिक्रियावादीले चलखेल गर्ने अवसर नपाउला भन्न सकिन्न ।

तसर्थ यही संसदलाई टेकेर संविधान संशोधन गराई नयाँ नेपाल सबैको नेपाल बनाउन प्रत्यन गरौ । प्रतिक्रियावादीलाई चलखेल गर्ने अवसर नदिऊ ।

प्रकाशित मिति: २०८२ भाद्र २७, शुक्रवार ०७:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको