मुलुकले प्रथम महिला सरकार प्रमुख पाउने निश्चित, संसद् विघटनमा अड्कियो वार्ता



जनकपुरधाम, भदौ २७ । जेनजी आन्दोलन पछि उत्पन्न राजनीतिक जटिलताका बीच मुलुकले प्रथम महिला सरकार प्रमुख पाउने निश्चित भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति र जेनजीका प्रतिनिधिबीच विहीवार मध्यराति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको स्रोतले जनाएको छ ।

तर, संसद् विघटन गर्ने कि नगर्ने भन्ने विवादमा बिहीबार राति शीतलनिवासमा बसेको वार्ता निष्कर्षविहीन भएको छ । जेनजी पक्ष संसद् विघटन बिना प्रक्रिया अघि बढ्न नसक्ने अडानमा दोहराउदै आएका छन भने दलका नेताहरू र राष्ट्रपति पौडेलले संविधानभित्रै समाधान खोज्नुपर्ने अडान राखेका छन।

नेपाली सेनाको जंगीअड्डामा बुधबारको छलफलपछि कार्कीको नाम राष्ट्रपतिसम्म पुगेको थियो। त्यसयता कांग्रेस, एमाले र माओवादी नेताहरूले उनलाई अस्वीकार नगरी “संविधानको फ्रेम” भित्रै अघि बढाउनुपर्ने धारणा राखेका छन्। राष्ट्रपति पौडेलले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली सहित माओवादी अध्यक्ष प्रचण्ड , नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल कांग्रेस नेताहरू संग छलफल गरेका थिए ।

कांग्रेसले संक्रमणकालीन व्यवस्था बनाएर गैरसांसदलाई पनि सीमित अवधिका लागि प्रधानमन्त्री बनाउन सकिने सुझाव दिएको छ। तर जेनजी प्रतिनिधिहरू संसद् नै विघटन हुनुपर्नेमा अडिग छन्। उनीहरूले विगतका दलका नेताले परिणाम नदिएकै कारण आन्दोलन भएको भन्दै संसद् अयोग्य भइसकेको तर्क गरेका छन्।

यता, संवैधानिक प्रावधानमा गैरसांसदलाई प्रधानमन्त्री बनाउन नपाइने उल्लेख भए पनि अघिल्लो उदाहरणमा २०६९ सालमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष बनेका थिए। अहिले पनि त्यस्तै संवैधानिक निकासबारे राष्ट्रपति पौडेलले विज्ञहरूसँग सल्लाह सुरु गरेका छन्।

शुक्रबार बिहान फेरि शीतलनिवासमा निर्णायक छलफल बस्ने तयारी छ। मुलुकको आगामी बाटो — संसद् रहने कि विघटन हुने — यही बैठकले तय गर्ने सम्भावना छ।

प्रकाशित मिति: २०८२ भाद्र २७, शुक्रवार ०६:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको