काठमाडौ ,भादौ २७ । सुरक्षाकर्मीले व्यापक बल प्रयोग गरेर जनधनको क्षति गर्दा मौन बसेको राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठन प्रक्रियामा चासो र चिन्ता प्रकट गरेको छ ।
गत सोमबार सुरक्षाकर्मीहरुको व्यापक बल प्रयोगले १६ जनाको मृत्यु भएको थियो । भोलीपल्ट प्रदर्शनकारीहरुले व्यापक आगजनी गरेर सिंहदरवार, सर्वोच्च अदालत संघीय संसद जलाएका थिए ।
यस्ता घटनाको सुक्ष्म अध्ययन गर्न चुकेको मानव अधिकार आयोगले नयाँ सरकार गठनको प्रक्रियामा आफ्नो चासो प्रकट गरेको हो । घटनाका बेला मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर भाषागोष्ठीमा व्यस्त थिए ।
मानव अधिकार आयोगले एक विज्ञप्ति जारी गरी ‘लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको जगमा निकास निकाल्न उचित हुने’ दृष्टिकोण अघि सारेको छ । आयोगले त्यतिमात्रै भनेको छैन, आफ्नो पदाधिकारीहरु राष्ट्रपति रामचन्द्र पौडेलको सम्पर्कमा रहेको भन्दै सरकार गठन प्रक्रियामा चासो दिएको हो ।
‘मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको छ’ आयोगले विज्ञप्तिमा भनेको छ, ‘मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको अवधारणाको जगमा निकास निकाल्न उचित हुने धारणा राष्ट्रपतिसमक्ष आयोगले राखेको छ ।’
उसले मानव अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानूनी शासनको रक्षाका लागि आवश्यक काम गर्ने भन्दै अहिलेको परिस्थितिका वारेमा अन्य सरोकारवालाहरुसँग पनि निरन्तर सम्पर्क भइरहेको जनाएको छैन ।




