राजविराज, भदौ २९ । जेनजीको आन्दोलनका क्रममा जिल्लामा भएको आगजनी र तोडफोडबाट सबैभन्दा बढी राजविराज नगरपालिका कार्यालयमा क्षति पुगेको पाइएको छ ।
स्थिति सामान्य बन्दै जाँदा जिल्ला प्रशासन कार्यालय सप्तरीले कफ्र्यु आदेश फिर्ता लिएपछी आइतबार नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको बैठकले क्षतिको यकिन विवरण संकलन गर्ने काम सुरु गर्ने निर्णय गरेको छ ।
निर्णय भएसँगै क्षतिको रकम यकिन गर्ने काम पनि प्राविधिकहरु मार्फत सुरु गरिएको छ । कार्यवाहक नगरप्रमुख इसरत परविनले गत मंगलबार जिल्लामा भएको आगजनी तथा तोडफोडबाट सबैभन्दा बढी राजविराज नगरपालिका कार्यालयलाई क्षति पुगेको बताइन् । “जनताको करबाट बनेको संरचना र नगर स्थापना कालदेखी नै सुरक्षित राखिएका महत्वपूर्ण दस्तावेजहरु जलाउनु उचित होइन्, उनले भनिन– नगरवासीले तिरेको करले ठडिएका कार्यालयको संरचना र जोडिएका सम्पत्ति जोगाउने जिम्मा हामी सबैको हो ।”
उक्त घटनाले आफूलाई निकै मर्माहत पारेको भन्दै उनले अब पुर्ननिर्माणमा जुट्ने र बन्द हुन पुगेको सेवाहरु छिटो भन्दा छिटो संचालनमा ल्याउन आफूहरु लागिपरेको सुनाइन् ।
नगरपालिकाको राजश्व फाँटका कर्मचारी शितल दासका अनुसार आन्दोलनको निहुँमा प्रदर्शनकारीहरुले गरेको तोडफोड र आगजनीबाट राजश्व फाँटमा विभिन्न दस्तुरबापत सेवाग्रहीहरुबाट प्राप्त करिब ११ लाख रुँपैया नगद जलेर नष्ट भएको छ ।
नगरपालिकाका योजना अधिकृत मनोज यादवले ५ वटा ट्याक्टर, ३ वटा टिपर, २ वटा बारुणयन्त्र, एक÷एक वटा जेसिबी, सेन्सन मेशिन जडान भएको गाडी, एम्बुलेन्स, कार, स्कारपियो र १५ वटा मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको जानकारी दिए । यस्तै विभिन्न फाँटमा राखिएका दर्जनौं ल्यापटप र कम्प्युटरहरु पनि जलेर खरानी भएको उनको भनाई छ ।
नगर स्थापना कालदेखी नै राखिएका रेकर्ड, फायल र प्रमाणहरु जस्ता महत्वपूर्ण कागजातहरु पनि जलेर खरानी भएको नक्शा फाँटका प्रमुख ओमप्रकाश साहले जानकारी दिए ।
आगजनीबाट कार्यालयको दुई तल्ले भवनको कोठाहरु मध्ये १८ वटा कोठा भवन पनि जलेर जिर्ण अवस्थामा पुगेको तथा कुनै बेला पनि भत्किने अवस्थामा रहेको नगरपालिकाको सहरी पूर्वाधार फाँटका प्रमुख अजय यादवले जानकारी दिए ।
उनले जलेर ढल्नै लागेको अवस्थामा रहेको भवनभित्र काम गर्न जोखिमपूर्ण र कठिन भएको बताए । नगरपालिकामा भएको ती सबै क्षतिको पूर्ती गर्न र पुर्ननिर्माण गर्न झण्डै ३० करोड भन्दा बढी रुँपैया खर्च लाग्ने अनुमान गरिएको छ ।
जेनजीको हिंसात्मक आन्दोलनका क्रममा नगरपालिका कार्यालय मात्र होइन । सघन सहरी, पूर्वाधार विकास, डिभिजन वन, जिल्ला अदालत, उच्च अदालत, हुलाक, नापी, निर्वाचन, यातायात सेवा कार्यालय लगायत नेकपा एमाले, नेपाली काँग्रेस, जनमत, जसपा नेपाल लगायतको पार्टी कार्यालय समेतमा तोडफोड र आगजनी भएको थियो ।
ती कार्यालयहरुबाट समेत क्षतिको विवरण संकलन गर्ने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।






