पनिया बाबाले धर्म परिवर्तनका लागि प्रेरित गरेको आरोप



एजेन्सी
पटना, असोज १ । सारण जिल्लामा सामाजिक सञ्जालमा भाइरल बनेको एउटा भिडियोले ठूलो हलचल मच्चाएको छ। उक्त भिडियोमा पनिया बाबा उर्फ वैधजी नामक व्यक्तिमाथि मानिसलाई भ्रमित गरि धर्म परिवर्तनका लागि प्रेरित गरेको र ‘चमत्कारी पानी’ बेचेर ठगी गरेको आरोप लगाइएको छ। साथै, उनले विशेष धर्मका आराध्यहरूको अपमान गरेको दाबी पनि गरिएको छ।

मामलाको गम्भीरतालाई ध्यानमा राख्दै जिलाअधिकारी अमन समीर र वरीय प्रहरी अधीक्षक (एसएसपी) डा. कुमार आशीषले यसबारे संज्ञान लिएका छन्। दुबै उच्च अधिकारीले प्रहरी अधीक्षक (ग्रामीण) संजय कुमार र मढौरा अनुमण्डल पदाधिकारीलाई गहन अनुसन्धान गरी प्रतिवेदन पेश गर्न आदेश दिएका छन्। अधिकारीहरूले आरोपको सत्यता हरेक तहबाट जाँचिने र त्यसपश्चात कानूनी कारबाही हुने स्पष्ट पारेका छन्।



अनुसन्धानमा पत्ता लागे अनुसार, हालै अनुमण्डल पदाधिकारी (एसडीओ) ले पनिया बाबाको कार्यक्रमका लागि सभा आयोजना गर्ने अनुमति दिएका थिए। विधि–व्यवस्था कायम राख्न प्रहरी बल पनि तैनाथ गरिएको थियो। सो सभा गत बुधबार (१० सेप्टेम्बर २०२५) बेल्दी थाना क्षेत्रको मदारपुर गाउँमा सम्पन्न भएको थियो। तर अब प्रशासनले तत्काल प्रभावले यस्ता विवादित सभा आयोजनामा रोक लगाउने निर्णय गरेको छ।

भिडियोमा पनिया बाबामाथि ‘जादुई पानी’को नाममा मानिसलाई भ्रमित गरेको आरोप छ। उनले दाबी गरेका छन् कि उक्त पानीले रोग निको हुन्छ र जीवनका समस्याहरू समाधान हुन्छन्। यसमार्फत उनी मानिसलाई गुमराह गरिरहेका छन् भन्ने प्रहरी स्रोतको भनाइ छ। यस्ता गतिविधि ठगी मात्र नभई सामाजिक सद्भाव बिगार्ने खालका पनि मानिन्छन्।

अनुसन्धान टोलीले अहिले कार्यक्रममा संलग्न व्यक्तिहरूसँग बयान लिइरहेको छ र भिडियोको सत्यता जाँचिरहेको छ। अधिकारीहरूले तथ्य प्रमाण आउनासाथ कानूनी कारबाही अघि बढाइने बताएका छन्।

सारण प्रहरीले सर्वसाधारणलाई अपुष्ट वा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ। साथै, अफवाह फैलाउनेहरूविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ।

प्रकाशित मिति: २०८२ आश्विन १, बुधबार ०७:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको