एजेन्सी
पटना, असोज १ । जन सुराज अभियानका अभियन्ता प्रशांत किशोरले २० वर्षभन्दा बढी समयसम्म सत्तामा बसेका नीतीशलाई अब कुर्सी खाली गर्नुपर्ने बताएका छन। मुजफ्फरपुरमा मंगलबार आयोजित जनसभामा प्रशानतले मुख्यमन्त्री नीतीश कुमार र अन्य राजनीतिक नेतामाथि कडा आक्षेप लगाउदै जनता अब योजनाको घोषणा वा वचनले सन्तुष्ट नभई नेतृत्व परिवर्तन चाहेको बताए । उनले सरकारलाई युवामाथि लाठीचार्ज गर्ने, रोजगारी बेच्ने र परीक्षा प्रश्नपत्र चुहाउने सरकारको संज्ञा दिए।
किशोरले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि आलोचना गर्दै भने, “मोदी पाँचपटक मुजफ्फरपुर आए, तर यहाँ कारखाना कहिले खुल्ने हो भन्ने कुरा कहिल्यै गर्दैनन्। उनीहरू विपक्षीलाई गाली गर्नमै सीमित छन्।” त्यस्तै, उनले कांग्रेस नेता राहुल गान्धीलाई समेत राजनीतिक शैलीको रूपमा केवल आलोचनामा सीमित भएको टिप्पणी गरे।
आफ्नो भाषणमा उनले ‘संजय’ नामका नेताको उल्लेख गर्दै अब उनीहरूको समय समाप्त हुन लागेको बताए। किशोरका अनुसार अहिले पत्रकारहरूले समेत प्रश्न गर्दा ‘संजय’को नामको हवाला दिन थालेका छन्, जसले उनीहरूको असफलता प्रकट भएको देखाउँछ।
किशोरले सरकारमाथि बाढीपीडितको बेवास्ता गरेको आरोप पनि लगाए। भोजपुर जिल्लाको जवाइनिया गाउँ पूरै गंगामा बग्दा समेत प्रभावकारी राहत नपाएको उनले उदाहरण दिए। उनले भने, “पंजाब वा हिमाचलमा बाढी आउँदा तुरुन्त कार्यवाही हुन्छ, तर बिहारमा त्यस्तो हुँदैन।”
उनको भनाइमा अब जनता पैसाको लोभमा होइन, नेतृत्वको परिवर्तनका लागि उठ्नुपर्ने बेला आएको छ।






