जनमत पार्टीवाट सिके राउतलाई निकाल्ने तयारी



जनकपुरधाम, असोज १ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई पार्टीवाट निकाल्ने तयारी थालिएको छ । पार्टी अध्यक्ष डा. राउतले अन्य पदाधिकारी तथा सदस्यहरुलाई पार्टीवाट निकाल्ने तरिका नै उनीमाथि पनि प्रयोग गरिएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष अव्दुल खान, केन्द्रीय प्रवक्ता डा. सरद सिंह यादव, केन्द्रीय संयोजक जनमत युवा संघका संजयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका केन्द्रीय संयोजक सि.के. सिँह, सुदूरपश्चिमका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य तथा केन्द्रीय सदस्य विक्रम बहादुर बमले संयुक्त रुपमा २४ घण्टा भित्र आफ्नो पदवाट स्वेच्छिक राजिनामा दिन अनुरोध गरेका छन् ।

पार्टी अध्यक्ष डा. राउत पनि पार्टीवाट निकाल्नु भन्दा पहिला यस्तै अनुरोध, स्पष्टिकरण लगायतका कार्य गर्दै आएका थिए । उनले यस भन्दा पहिला जग्गा, घर बिवादमा पार्टीका कोषाध्यक्ष सुरेन्द्र यादव र वरिष्ठ उपाध्यक्ष इन्जिनियर दीपक साहलाई हटाएका थिए । उनले स्पष्टिकरण सोध्ने तर जवाव चित बुझ्दो नभएको भन्दै उनीहरुलाई जसरीनै पार्टीवाट निकालिएको थियो त्यस्तै उनलाई पार्टीवाट हटाउन तयारी स्वरुप २४ घण्टा भित्र पार्टीको अध्यक्ष पद छोड्न अनुरोध गरिएको छ । अनुरोध कर्ताहरुले जारी गरेको अनुरोध पत्रमा भनिएको छ–‘ देशमा व्याप्त भ्रष्टाचार, परिवारवाद, नातावाद र कुशासनको विरुद्ध भदौ २३ र २४ गते जेनजी युवा पुस्ताले सञ्चालन गरेको आन्दोलनले नेपालको वर्तमान राजनीतिक परिदृष्यमा एक ऐतिहासिक मोड प्रदान गरेको छ । उक्त आन्दोलनले विशेष गरी सत्तारुढ गठबन्धन सरकार, प्रधानमन्त्री, गठबन्धनका शीर्ष नेताहरु तथा प्रमुुख प्रतिपक्षी दलका नेताहरुको अकर्मण्यता र अनियमितता विरुद्ध गम्भीर प्रश्न उठाएको छ ।’

अनुरोध कर्ताहरुका अनुसार पार्टी गठबन्धनमा रहेका कारण जुन कार्यको विरोध भएको छ त्यस सरकारलाई समर्थन दिनेलाई पनि राजिनामा दिनुपर्छ ।

उनीहरुले जारी गरेको अनुरोध पत्रमा देशको राजनीतिक, सामाजिक तथा प्राशासनिक प्रणालीमा व्यपाक शुद्धीकरणको आवश्यकता दिन प्रतिदिन तीव्र रुपमा महसुस भईरहेको बेला जनमत पार्टीले समेत आत्मसमिक्षा गर्दै परिवर्तनको मार्ग अपनाउनु अत्यावश्यक भईसकेको उल्लेख गरेका छन् ।

जनताको अथक भरोसा र समर्थनले जनमत पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिएको दावी गर्दै उनीहरुले अगाडि भनेका छन्–‘पछिल्लो समय पार्टीको शीर्ष नेतृत्ववाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शीताको अभाव तथा जनभावना संग विमुख गतिविधिहरुले पार्टीको मुल उद्देश्य विचार र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको स्पष्ट देखिन्छ ।’

अनुरोध कर्ताहरुले पार्टीका अध्यक्ष डा. राउत माथि विभिन्न आरोप लगाउँदै अध्यक्ष डा. राउत र उनका दाई संगठन विभाग प्रमुख डा. जयकान्त राउतले २४ घण्टा भित्र राजिनामाको माग समेत गरेका छन् ।

प्रकाशित मिति: २०८२ आश्विन १, बुधवार १८:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको