जनकपुरधाम, असोज १ । आज असोज १ गते नेपालभर विश्वकर्मा पूजा मनाइँदैछ। भगवान् विश्वकर्मालाई सृष्टिको पहिलो इन्जिनियर र वास्तुकार मानिन्छ। हिन्दू धर्मशास्त्रअनुसार ब्रह्माका वंशज देवशिल्पी विश्वकर्माले पाताल, मध्यलोक र स्वर्गलोकसहित तीनै लोकको निर्माण गरेका थिए। सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा रावणको लङ्का, द्वापरयुगमा श्रीकृष्णको द्वारका र कलियुगमा जगन्नाथ मन्दिरको मूर्ति विश्वकर्माका अद्वितीय कृतिहरू मानिन्छन्।
यस दिन उद्योग–धन्दा, कारखाना, पसल, मेसिनरी, औजार, सवारीसाधनदेखि भवन निर्माणका उपकरणसम्मको पूजा गरिन्छ। मजदुर, प्राविधिक, इन्जिनियर, शिल्पकार, व्यापारीलगायत सम्पूर्ण वर्गले यस दिन श्रद्धा र भक्ति भावका साथ पूजा–अर्चना गर्छन्। नयाँ सवारीसाधन खरिद गर्नेहरू भद्रकाली, दक्षिणकालीलगायत शक्तिपीठमा गई पूजा गर्ने परम्परा पनि छ।
विश्वकर्मा पूजालाई सृजनात्मक कर्म, प्रविधि र श्रमप्रति सम्मानस्वरूप मनाइन्छ। यसो गर्दा काममा आउने बाधा–अड्चन हट्ने, व्यवसायमा प्रगति हुने, सवारीसाधनमा दुर्घटना कम हुने तथा परिवारमा शान्ति–समृद्धि आउने विश्वास गरिन्छ।
धार्मिक ग्रन्थहरूमा विश्वकर्माको महत्त्वलाई विशेष स्थान दिइएको छ। ऋग्वेदमै उनीबारे ११ ऋचा लेखिएका छन्। उनी वास्तुविद् मात्र नभई प्राविधिक ज्ञानका प्रणेता पनि मानिन्छन्। समुद्रमन्थनपछि निस्किएका विश्वकर्माले देवताका हतियार, कृष्णको द्वारका र पाण्डवको मयसभा निर्माण गरेका कथा पाइन्छ।
विश्वकर्मा पूजाको आध्यात्मिक अर्थ भने सृजनात्मक कर्मप्रति आस्था हो। जुन कामले जीवन सञ्चालन हुन्छ, त्यो सबै विश्वकर्माको कर्मको प्रतिरूप हो भन्ने मान्यता छ। पूजाले मानिसलाई ऊर्जा, लगनशीलता र सफलता दिने विश्वास रहिआएको छ।
यसरी, विश्वकर्मा पूजा केवल धार्मिक पर्व मात्र नभई सृजनशीलता, प्रविधि, श्रम र व्यवसायलाई सम्मान गर्ने परम्परा हो, जसले समाजलाई श्रमप्रति श्रद्धा र कर्मप्रति आस्था जगाउने काम गर्छ।
विश्वकर्मा पूजाको अवसरमा जनकपुरधाम स्थित बस पार्कमा विशेष आयोजन गरिएको छ ।




