तातोपानी सडक अवरुद्धको ५० दिन– ५० अर्बका सामान बाटोमै कुहिन थाले



काठमाडौँ ,असोज  ४ । चीनबाट नेपाल भित्रिएर तातोपानी भन्सार भएर काठमाडौँ जाँदै गरेको कन्टेनरहरू पहिरोले डाक्लाङमा रोकिएपछि फलफूल भने कुहिन थालेका छन् ।

दसैँका लागि काठमाडौँ भित्र्याइन लागेका स्याउ, आँप, अंगुर, सुन्तला, किवी, ड्रागनफूटलगायतका फलफूल कुहिन थालेपछि व्यापारीहरू मारमा परेका छन् ।

घटस्थापना आउन दुई दिन मात्रै बाँकी छ । जसरी नेपालीहरूलाई चाडपर्वले छपक्कै छोपेको छ, त्यसैगरी तातोपानी नाकासम्बद्ध व्यापारीहरूलाई पहिरोले छोपेर रून मात्रै सकेका छैनन् । उसै त २०७१ सालको जुरो पहिरोबाट धरमर–धरमर चलिरहेको तातोपानी नाका गत साउन ६ गते भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा आएको पहिरोले ठप्पप्राय छ ।

बाह्रबिसेदेखि माथि लागेपछि भेटिन थाल्छ लेदोसहितको पहिरो । घट्टेखोलामा १० मिटर, लार्चामा २५ मिटर, पान्थलीमा १०० मिटर, डाक्लाङमा ११० मिटर र इकोमा २५० मिटर लेदोसहितको पहिरो बगिरहेको छ । यीमध्ये तीन वटा पहिरोले दसैँका लागि आएका सामानहरू अड्किएका छन्, इको, पान्थली र डाक्लाङ ।

देशमा राजनीतिक उथलपुथल भएसँगै नयाँ सरकार बनेपछि बिहीबार सडक विभागको टोली स्थलगत अनुगमनमा गएको थियो । सडक विभागका महानिर्देशक डा। विजय जैसी, उपमहानिर्देशक प्रभातकुमार झा, पहिरो विशेषज्ञ मधुसुधन आचार्य, उदयराज न्यौपाने, सुभराज न्यौपानेलगायत टोलीले त्यहाँको स्थानीय, व्यवसायीसँग बिहीबार तातोपानी भन्सारमा छलफल गरेको थियो ।

उक्त छलफलमा दसैँलक्षित सामान अड्किपछि व्यवसायीहरूले आक्रोशित देखिन्थे । करिब १ हजार ५ सय कन्टेनरमा दसैँलक्षित आएको सामान अड्किएको शिल्क ट्रान्सपोर्टका डाइरेक्टर विजय शेर्पाले बताए । ुफलफूल र लसुनलगायत सामान कुहिएको छ’, शेर्पाले भने, ुकतिपय कन्टेनर चीनमै अड्किएको छ भने कतिपय नेपाल भित्रिएर पनि काठमाडौँ पठाउन सकिएको छैन ।’

व्यवसायी शेर्पाका अनुसार दसैँलक्षित सामान ल्याएको शिल्कको मात्र करिब ८र९ सय वटा कन्टेनर फसेको छ । सामान लोड गरेर चीनमा एउटा कन्टेनर राखेको करिब १२ देखि १४ हजार रूपैयाँ तिर्नुपर्ने शेर्पाले बताए । व्यवसायीको दसैँ अगाडि पुर्‍याउनुपर्ने सामान अझै अड्किएपछि आफूहरूले ठुलो घाटा बेहोर्नुपर्ने बताए ।

’५० दिनदेखि सामान रोकिएको छ । दसैँ लक्षित लत्ताकपडा, कच्चा पदार्थ धेरै मात्रामा अड्किएको छ । सामान पठाउन सकिएको छैन’, शेर्पाले भने ।

कतिपय फलफूल बोकाएर पहिरो तारेका थियौँ । एउटा पहिरो तार्दा एक कन्टेनरको खर्च १ लाखदेखि डेढ लाखसम्म बढी निस्किन्छ । अहिले फेरि डाक्लाङमा पहिरो गएर त्यहाँ पनि बोकाउनुपर्ने स्थिति आयो । अब व्यवसायीले काम गर्न नसक्ने स्थिति भयो’, शेर्पाले दुखेसो पोखे, ु३ वटा पहिरो कटाउँदा एक कन्टेनर बराबर करिब साढे तीन लाखदेखि ४ लाख बढी खर्च आउँछ । त्यसरी काम गर्न सकिँदैन । बरू कुहिएर जाओस् तर बोकाएर पहिरो कटाउन सक्ने स्थिति भएन ।’

उनका अनुसार यस भन्दाअघि इको पहिरोमा भरिया लगाएर सामान तार्दा एक कन्टेनरको खर्च १ लाखदेखि डेढ लाखसम्म बढी निस्किएको थियो ।

यसअघि सरकारको ढोका ढकढक्याउँदा पनि वास्ता नगरेको कारण तातोपानीको सडक नबनेको शेर्पाको भनाइ छ । ुपहिला सरकारले वास्ता गरेन, अहिले नयाँ सरकार आएपछि अनुगमनमा आउनुभएको छ, केही गर्नुहुन्छ कि’, शेर्पाले भने ।

असार २४ मा चीनको ल्हेन्दे खोलामा आएको बाढीले रसुवागढी नाका पूर्ण रूपमा ठप्प भएपछि त्यहाँको सबै सामान तातोपानी नाकामा आएको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेतले बताए । तातोपानीबाट पनि सम्भव नभएपछि कोरला नाकाबाट कतिपय सामान ल्याइएको उनले बताए । बुधबार २५ कन्टेनर सामान भन्सार भएको उनको भनाइ छ । राज्य मात्रै नभएर भूगोल र प्रकृतिले पनि साथ नदिएको बस्नेतले बताए ।

१२र१५ सय कन्टेनर चीनको भूभागमा अड्किएको छ । २र४ दिनमा सामान पुर्‍याउन सकिन्छ भन्ने आश अझै बाँकी छ’, बस्नेतले भने, ’नेपालमा अन्य ठाउँमा पुर्‍याउन नसके पनि काठमाडौँ आसपास पुर्‍याउन सकिन्छ कि भन्ने लाग्छ ।’

केरूङ, ल्हासा, सिगात्से, न्यालम, खासा र नेपालमा लोड भएर बसेका कन्टेनरका सामान लैजान नसकिएको उनले बताए । उनका अनुसार ५० अर्ब रूपैयाँ बराबरको सामान फसेर बसेको छ । सामान बोकाएर पार गराउँदा महँगी बढ्ने उनको भनाइ छ ।

’दुई महिना अगाडि साढे ३ सय रुपैयाँ किलोमा पाउने स्याउ अहिले साढे ४ सय रूपैयाँ पुगेको छ,’ बस्नेतले भने, ’यो त फलफूलको मात्रै कुरा भयो, अरू सामानहरूको हालत पनि त्यस्तै छ । व्यवसायीले यत्रो समय ब्याज तिरेर बसेका छन्, ती सबै जोड्छन् । ती सबै कस्ट जोडेर नै बजारमा पठाउँछन् सामान, त्यसैले महँगी बढ्छ । उपभोक्ता मारमा पर्छन् ।’

कोरला नाकाबाट सामान ल्याउँदा पनि दूरीको हिसाबमा टाढापर्ने उनको भनाइ छ । उनका अनुसार कोरलाबाट काठमाडौँ ४०० किलोमिटर पर्छ भने तातोपानीबाट काठमाडौँ ११४ किलोमिटरमा पुगिन्छ ।

तातोपानी नाका बन्द हुँदा दैनिक करिब ७ करोड रुपैयाँ राजस्व गुमेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुँडालले बताए । तातोपानी भन्सारलाई सरकारले २४ अर्ब रूपैयाँ राजस्वको लक्ष्य दिएको छ ।

वर्षा सुरु हुनेबित्तिकै माथिबाट लेदो बगेर सडक नै बगाइदिने समस्या रहेको भोटेकोशी(२ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए । दिउँसो सडक बनाउने तर राति आएको पानीले सडक नै बगाउने समस्या भइरहेको उनले बताए ।

भूकम्प गएको सालदेखि इको पहिरो गए पनि सरकारले वास्ता नगर्दा यो स्थिति आएको पहिरो माथि बस्तीमा घर रहेका स्थानीय राजेश थामीले बताए । ुहिउँदमा काम गर्दैनन्, जब बर्खा लाग्छ अनि तात्छ सरकार । जब बाटो बिग्रन्छ त्यतिबेला मात्रै आउँछ सडक डिभिजन । हाम्रो बस्ती जोगाएर बाटो बनाइदिनुहोला,’ उनले माग गरे । उनका अनुसार ७०र८० घरधुरी समस्यामा छन् ।

पहिरोले गर्दा दसैँको मुखमा व्यवसायीहरू धेरै मारमा परेका नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका सञ्चालक समिति सदस्य शम्भु तिमिल्सिनाले बताए ।दसैँ आइसक्यो पहिरोले सामान बिचमै अड्किएको छ’, तिमिल्सिनाले भने, ’दसैँअघि सामान लैजान नसकिए व्यवसायीहरू डुब्छन् ।’

कृष्णभिरको पनि समस्या समाधान गर्‍यौँ, यहाँको पनि गर्छौँ ( महानिर्देशक जैसी

गत वर्षदेखि पहिरोको समस्या समाधान गर्न लागिरहेका थियौँ । पहिलामाथिबाट प्लास्टिक राख्यौँ । भित्र पानी जमेको भेटियो । पानी झिक्ने कोसिस गर्‍यौँ । वर्षाको समयमा पानी पर्नाले समस्या निम्त्यायो । बिहान दिउँसो काम गर्‍यो रातिको पानीले भोलिपल्टै उस्तै बनाउने भएकाले तत्काल बाटो बनाउन नसकिएको हो । तल खोलाले कटान पनि गरिरहेको छ । हिजोको दिनमा हामीले कृष्णभिरको पनि समस्या समाधान गर्‍यौँ, अब यहाँको पनि गर्छौँ ।

इकोमा दुई किसिमले काम थालेका छौँ । एउटा अल्पकालीन र अर्को दीर्घकालीन । अल्पकालीन चाहिँ हामी २र४ दिनमै बाटो खोल्छौँ । दीर्घकालीनमा भने एक खालको डिजाइन हामीले गरिसकेका छौँ त्यसलाई अपडेट गरेर काम सुरु गर्छौँ । दुई महिनाभित्रमा ठेक्का निकाल्छौँ ।

चिनियाँ पक्षले पनि यो बाटोको चासो देखाएको छ । उनीहरूले सुरुङ बनाएर पनि काम गर्न तयार छन् । सुरूङ नबनाएर अर्को तरिकाले सडक बनाऔँ भनेर पनि उहाँहरूले सोलुसन दिनुभएको छ । सुरुङ बनाउन स्थानीय तयार भएनन् । त्यसपछि बाहिरबाट सडक बनाउनुपर्छ भनेर चीन पनि लागिरहेको छ ।

चिनियाँ पक्षसँग काम गर्दा फेरि समय लम्बिने हो कि भन्ने समस्या छ । अब मन्त्रालय गएर मन्त्रीज्यू र सचिवज्यूसँग कुरा गर्छु । नेपाली पक्षबाट काम गर्न पनि हामीलाई बजेटको समस्या छैन । अब यो नाकालाई महत्त्व दिएर दीर्घकालीन रूपमा सोचेका छौँ ।

प्रकाशित मिति: २०८२ आश्विन ४, शनिवार १६:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको