एजेन्सी
पटना, असोज ४ । बिहारको अररिया जिल्लाको नरपतगञ्जमा आयोजित राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीए कार्यकर्ता सम्मेलनमा तीव्र हंगामा भएको छ । स्थानीय भाजपा विधायक जयप्रकाश यादवविरुद्ध आक्रोशित कार्यकर्ताहरूले नाराबाजी गर्दै उनलाई हटाउन माग गरे। विरोधको क्रममा कुर्सी फ्याँकिएको र त्यसबाट मच्चिएको भगदडमा एक व्यक्ति घाइते भएका छन्। घटनापछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ।
नरपतगञ्ज प्रखंड मुख्यालयस्थित हाई स्कूल स्टेडियममा आयोजित कार्यक्रममा दर्जनौं कार्यकर्ताहरू “जयप्रकाश हटाओ, नरपतगञ्ज बचाओ“ र “जयप्रकाश यादव मुर्दाबाद“ जस्ता नारासहित विरोधमा उत्रिए। जयप्रकाश यादवले जब सम्बोधन सुरु गर्न लागे, त्यत्तिकैमा विरोध तीव्र भयो। प्रदर्शनकारीहरूले विकास नहुनु र जनसमस्यालाई बेवास्ता गरिएको आरोप लगाए।
उनीहरूले साथमा ब्यानर र पोस्टर बोकेका थिए, जसमा लेखिएको थियो, “जयप्रकाश हटाओ, नरपतगञ्ज बचाओ“। उनीहरूले उम्मेदवार परिवर्तनको समेत माग राखे।
विधायकका समर्थकहरूले विरोध नगर्न आग्रह गरेपछि स्थिति तनावपूर्ण बन्यो। विवाद बढ्दै गएपछि गालीगलौज, झडप र अन्ततः कुर्सी फ्याँक्ने स्थिति आयो। यसले मैदानमा भगदड मच्चायो र एक व्यक्ति टाउकोमा चोट लागेर घाइते भए। घाइतेलाई तत्काल उनका साथिहरूले उपचारका लागि लगे।
घटनास्थलमा तैनाथ फोर्बिसगञ्ज एसडियो रंजीत कुमार रंजन, एसडिपीओ मुकेश कुमार साहा र प्रहरी बलले हस्तक्षेप गर्दै करिब १५० जना विरोधकर्तालाई मैदानबाट हटाए।
विरोधका बीचमा सम्बोधन गर्दै विधायक जयप्रकाश यादवले भने ,‘तपाईंहरूका समस्या छन् भने यहाँ राख्नुस्। यहाँ पार्टीका वरिष्ठ नेताहरू र प्रतिनिधिहरू छन्। विरोध गरेर समाधान हुँदैन। विरोध गर्नेहरू प्रायः विपक्षी हुन्। मेरो कार्यकालमा नरपतगञ्जमा धेरै विकास कार्य भएका छन्। यति विकास पहिले कहिल्यै भएको थिएन।“
घटनामा प्रतिक्रिया दिँदै सांसद प्रदीप सिंहले भने “यो सबै कसले गरिरहेको छ हामीलाई थाहा छ। हल्ला र हुडदङ्ग गरेर कसैलाई टिकट दिइँदैन। पार्टीले निर्णय गर्छ, कसलाई टिकट दिने भन्ने।“
करिब आधा घण्टासम्म कार्यक्रम स्थलमा हंगामा जारी रह्यो।
कार्यक्रम सुरु हुनु अघि नै नरपतगञ्ज नगरपंचायत वडा नं. २० को महादलित बस्तीका महिला–पुरुषहरू तख्ती बोकेर कार्यक्रममा पुगे। उनीहरूको तख्तीमा लेखिएको थियो, “सडक छैन भने अमृत भारतमा विकास छैन“।
बासिन्दाहरूले बताए अनुसार, बस्तीमा रहेको एकमात्र बाटो निकै जीर्ण अवस्थामा छ। वर्षामा कीचड र पानी जमेकाले बासिन्दाहरू घरबाट निस्कनसमेत सक्दैनन्। उनीहरूले तत्काल सडक सुविधा उपलब्ध गराउन माग गरे।






