काठमाडौं , असोज ४ । जेनजी युवा आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएको स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न जोखिम रहेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।
शहरी विकास तथा भवन निर्माण विभागको अगुवाइमा नेपाल इन्जिनियर्स एसोसिएसनसहितका प्रतिनिधिहरुले गरेको प्रारम्भिक अध्ययनबाट स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न जोखिम रहेको निष्कर्ष निकालिएको हो ।
नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले स्वास्थ्य मन्त्रालयको भवनका वालहरुमा धेरै क्षति नपुगे पनि स्ल्याबमा धेरै क्षति पुगेको बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयको भवन अध्ययन गर्दा लोडबियरिङमा, वालहरुमा त्यति धेरै क्षति नभए पनि स्ल्याबहरु टोटली क्षति भएको अवस्था छ । जसले गर्दा हाललाई यसलाई प्रयोग गर्न अत्यन्त जोखिम छ ।’
नेपालको इन्जिनियरिङ इतिहास र वास्तुशिल्प ९आर्किटेक्ट० को हिसाबले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवनलाई विश्वकै नमूना मानिन्छ । संसारकै नामी आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरविनाको नमुना डिजाइनमा बनाइएको यो भवनमा आर्किटेक्चर र इन्जिनियरिङको अनौठो मेल रहेको प्राविधिकहरु बताउँछन् ।
यो पनि पढ्नुहोस
विश्वकै तीनमध्ये एक वास्तुशिल्प चिनाउने स्वास्थ्य मन्त्रालयको भवन अब खण्डहर
कुनै समय विदेशबाट समेत विद्यार्थीहरु अध्ययन अवलोकन गर्न आउने स्वास्थ्य मन्त्रालयको यो भवनमा जेनजी युवा आन्दोलनको क्रममा भदौ २४ गते आगजनी भएको थियो ।
आगजनीबाट क्षतिग्रस्त संरचनाहरुको शहरी विकास तथा भवन निर्माण विभागसँगको समन्वयमा नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट, इलेक्ट्रिकल इन्जिनयर्स सोसाइटी, मेकानिकल इन्जिनियर्स सोसाइटीलगायतका प्रतिनिधिहरु सम्मिलित टोलीले अध्ययन गरिरहेको छ ।
सोही अध्ययनको क्रममा यसअघि सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, नेपाल बार एसोसिएसन र नेपाल गुणस्तर तथा नापतौल विभागका भवनहरू तत्काल प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालिएको थियो । प्रयोग अयोग्य ठहर गरिएका भवनहरुमा खतराको संकेत स्वरुप रातो स्टिकर टाँसिएको छ ।
यो पनि पढ्नुहोस
सर्वोच्चसहित ४ सरकारी भवन तत्काल प्रयोगमा अयोग्य
नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले यस्तो अध्ययन देशभर भइरहेको जानकारी दिए । अध्ययनको निष्कर्ष सरकारलाई बुझाइने उनले बताए ।
आगलागीबाट भएका भवनहरुमध्ये कुनै भवनको एकातिरको भागमा धेरै र अर्कोतिरको भागमा थोरै क्षति पुगेको पाइएको उनले बताए ।
उदाहरणका लागि सर्वोच्च अदालत भवनको उत्तरतर्फको भागमा धेरै क्षति र दक्षिणतिरको भागमा कम क्षति पुगेको उनले बताए ।
आगजनी भएका सिंहदरबारभित्रका भवनहरुमा पनि धेरैजसो प्रयोग गर्न मिल्ने र केही मात्र पुनस् प्रयोग गर्न नमिल्ने खालको पाइएको उनले बताए ।एसोसिएसनले प्राविधिक परीक्षण पश्चात मात्र संरचना प्रयोग गर्न सरोकारवालालाई सुझाव दिएको छ ।




