मिर्चैयामा चोरको आतंक, इलाका प्रहरी कार्यालयमाथि जनदबाब चुलिँदै



श्याम कुमार ठाकुर
सिरहा, असोज ८ । सिरहा जिल्लाको मिर्चैया क्षेत्रमा चोरको आतंक मच्चिएको छ । बजारदेखि गाउँसम्म, पसलदेखि घरसम्म चोरीका घटनाहरू दिनप्रतिदिन बढ्दै गएको छ । दिन प्रतिदिन बढदै गएको चोरीका घटनाहरुले इलाका प्रहरी कार्यालय मिर्चैयाको भूमिकामाथि गम्भीर प्रश्न उठ्न थालेको छ।

सिरहाको विभिन्न ठाउहरु मध्ये मिर्चैयाको क्षेत्रहरूमा लगातार चोरी भइरहे पनि प्रहरीले अपराध नियन्त्रणमा कुनै ठोस उपस्थिति देखाउन सकेको छैन।
स्थानीय बासिन्दाहरूका अनुसार, चोरीका घटनापछि प्रहरीलाई जानकारी दिँदा पनि ढिलो प्रतिक्रिया आउने, अनुसन्धानमा चासो नदेखाइने, र उजुरीमाथि बेवास्ता गरिने प्रवृत्ति देखिएको छ।



एक व्यापारीको भनाइ छ,‘हामी दिनभर पसलमा श्रम गर्छौं, राति भने डराएर सुत्नुपर्छ। चोरको त्रासले बाच्नै गाह्रो छ, प्रहरी चाहिँ सुतेको जस्तो देखिन्छ।’

हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाड दशैं नजिकिँदै गर्दा सुरक्षा व्यवस्थामा सतर्कता अपेक्षित थियो। तर मिर्चैयामा सुरक्षा चुस्त देखिनुको सट्टा, गस्तीको नाममा औपचारिकता मात्र देखिएको छ।

पसलहरूमा राति कुनै सुरक्षा छैन, गाउँबस्तीतर्फ प्रहरीको उपस्थिति शून्यप्रायः छ। यस्तो अवस्थामा चाडपर्व झन् त्रासपूर्ण बन्ने खतरा देखिएको छ।

केही समयअघि मिर्चैयामा चलेको ‘जेन जि आन्दोलन’ले प्रहरी–जनता सम्बन्धमा खटपट ल्याएको देखिएको छ। आन्दोलनपछि प्रहरीले चासो दिन छाडेजस्तो महसुस गरिएको छ। धेरैको बुझाइमा, प्रहरी प्रशासन अझै जनभावना अनुरूप जिम्मेवार बन्न सकेको छैन।

स्थानीय नागरिक समाज, युवा समूह, र व्यापारीहरू चोरीको घटनाले आक्रोशित छन्। चोरी नियन्त्रणमा प्रहरीको सक्रियता नदेखिए सडकमा उत्रने चेतावनी दिन थालिएको छ।
एक स्थानीय युवाले भने “हामी चुप बस्दैनौं। प्रहरीको काम जनतालाई सुरक्षा दिनु हो, नत्र हामी आफैं सडकमा उत्रेर प्रश्न गर्छौं – तपाईं किन छन् यहाँ ?”

धेरै घटनामा जनताले आफैं चोरको हुलिया, रातको गतिविधि वा संदिग्ध मानिसबारे जानकारी दिए पनि प्रहरीले त्यसलाई गम्भीर रूपमा लिएको देखिँदैन। यसले नागरिक सहयोगप्रति प्रहरीको दृष्टिकोणप्रति पनि असन्तोष बढाएको छ।

प्रकाशित मिति: २०८२ आश्विन ८, बुधबार १६:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको