पार्टी एकताका लागि समाजवादी धारका पाँच दलका नेताहरुको संयुक्त अपिल



जनकपुरधाम, असोज ९ । जनता समाजवादी पार्टी (जसपा) नेपालसहित समाजवादी विचारधारामा आधारित पाँच दलका केन्द्रीय नेताहरुले पार्टी एकताका लागि नेतृत्वलाई संयुक्त अपिल गरेका छन्।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, अशोक राई नेतृत्वको जसपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय नेताहरुले मंगलबार संयुक्त अपिल जारी गर्दै समान विचार, सिद्धान्त र मुद्दा बोकेका दललाई एकताबद्ध बनाउन माग गरेका हुन्।



अपिलमा भनिएको छ, “संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात गर्ने समाजवादी विचारका हामी युवा प्रतिनिधिहरू जेन–जी आन्दोलनपश्चात् विकसित घटनाक्रममा छलफल गर्दै साझा निष्कर्षमा पुगेका छौँ। समान विचार, सिद्धान्त र मुद्दा बोकेका पार्टीलाई एकताबद्ध बनाइ वैकल्पिक पार्टी निर्माण गर्नु आजको आवश्यकता हो।”

नेताहरूले विगतका कमजोरी सच्याउँदै समाजवादी आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्न नेतृत्वलाई आग्रह गरेका छन्। त्यस्तै, मुलुकको आवश्यकता, आन्दोलनको मर्म र पार्टीका कार्यकर्ताको भावनालाई गम्भीरताका साथ आत्मसात् गर्न पनि अपिलमार्फत माग गरिएको छ।

यस अपिलमा जसपा नेपालका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख पूर्ण बस्नेत, खेमराज खड्का, लोसपाका रामेश्वर यादव र सुजन यादव, जसपाका प्रेमनारायण थापा, अर्जुन लम्साल र ज्ञानु आचार्य, नागरिक उन्मुक्ति पार्टीका दीपबहादुर तामाङ, गीता चौधरी र दोर्जे तामाङ, नेसपा (नयाँ शक्ति) का विष्णु प्रसाद पौडेल र प्रकाश भट्टराईको हस्ताक्षर छ।

प्रकाशित मिति: २०८२ आश्विन ९, बिहीबार ०७:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको